उर्जामन्त्री दीपक खड्कालाई खुला पत्र



आदरणीय नेता तथा माननीय उर्जामन्त्री दिपक खड्का ज्यु,
सादर नमस्कार ।

सर्वप्रथम बडा दशैँ, तिहार लगायतका पर्वहरुको अवसरमा तपाई लगायत सपरिवारलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

हामी जिल्लाबासीलाई तपाई मन्त्री हुँदा बहुत अपनत्वबोध भएको छ । जिल्लाले शक्तिशाली फुल मन्त्री पाउदा हामी सबै जिल्लाबासी गर्ववान्वीत भएका छौ । सँगै जनतामा प्रचुर आशा समेत पलाएको छ ।

मन्त्री ज्यू, काम गर्नको लागि यो ठुलो अवसर हो । काम गर्नको लागि यस्तो अवसर फेरी आउला न आउला । नेपालको अस्थिर सरकार सँस्कृतिको कारण यसै भन्न सकिन्न । तसर्थ जनपक्षीय तथा उल्लेखनीय काममा लागीहाल्नुहोला । अब बधाई शुभकामना र हनिमुनको समय सकियो । अब नतिजामुखी काम चाहियो मन्त्री ज्यू ।

हुन त तपाई सिंगो सरकारको मन्त्री हुनुहुन्छ । तथापी तपाईको जिल्लावासीहरुको केहि माग तथा अपेक्षाहरु छन् । जलविद्युत आयोजनाहरुको तालुकदार मन्त्री हुनुहुन्छ । तसर्थ यस सम्बन्धी केहि मागहरु यहाँ प्रस्तुत गरेको छु ।

पवित्र पुज्य बरुण नदीमा बिद्युत आयोजना बन्नेछैन । आयोजना बन्ने सवालमा कुनै व्यबसायीक पैरवी हुनेछैन । अप्पर अरुण जलविद्युत आयोजना नेपाली लगानीमा बन्नेछ । अप्पर अरुणको चाडै आईपिओ खुल्नेछ र जनताको लगानीमा बन्नतर्फ बाटो खुल्नेछ । जसलाई तपाईले आफ्नो प्रमुख संकल्पको रुपमा लिनुहुनेछ । अरुण ३ मा काम गरेका सम्पुर्ण निर्माण व्यबसायी र कर्मचारीहरुका बाकी बक्यौता भुक्तानी हुनेछ । यी आयोजनाका ह्याभी लोडेड सवारीसाधनले बिगारेको बाटो तुरुन्तै मर्मत गर्न लगाईने छ । केवाबेसी वा सभापुल छेउमा भारवाहन क्षमता चेकजाँच (धर्मकाटा) तुरुन्त संचालन हुनेछ । संखुवासभाली व्यबसायी, प्राविधिक, दक्ष तथा अर्धदक्ष कामदारले उल्लेखित योजना आयोजनामा रोजगारी पाउनेछन् ।

अप्पर अरुण, अरुण ३, लोअर अरुण जस्ता ठुला र अन्य १०० मेघावाट मुनिका सम्पूर्ण आयोजनाहरुले जिल्लामा उत्पादित तरकारी, फलफुल, माछा, मासु तथा खाद्यान्न प्रयोग गर्नेछन् । जसको लागी आयोजना सङ्ग सवन्वय गरी पायक स्थानमा किसानहरुलाई बिउ पुँजी, बीउ र प्रवीधी दिइनेछ । अनी न्युनतम समर्थन मूल्य सहित खरिद सम्झौता समेत हुनेछ । स्थानीय, स्थानीय कृषि बिशेषज्ञ र विद्यार्थीहरुलाई बिशेष प्राथमिकतामा पारीनेछ । बेरोजगार कोही हुने छैनन् । केही सम्वन्धित घरेलु उद्योग खुल्नेछन् जसले गृहिणी महिलाहरुलाई पार्ट टाईम र अन्यलाई फुलटाईम रोजगारीको अवसरहरु मिल्नेछ । अन्य मन्त्रालयसँग सवन्वय गरी पर्यटकीय क्षेत्र मकालु बरुण उपत्यका बेसक्याम्प, सभापोखरी, तिनजुरे गुफा क्षेत्रमा बिशेष लगानी हुनेछ । सिद्धकाली, मनकामना, खेम्पालुङ्ग जस्ता धार्मिक क्षेत्रमा थप लगानी आउनेछ । अन्य क्षेत्रमा नसके पनी उर्जा सम्बन्धि पुर्वी पहाडका आयोजना हेर्ने एउटा बिशेष र अधिकार सम्पन्न डिभिजन कार्यालय तुरुन्तै आवश्यक देखिएको छ । जिल्लामा केही समयमै सिचाई हेर्ने डिभिजन कार्यालय आउदैछ ।

ईलेक्ट्रीकल ईन्जिनियरीङ्ग कलेज संभावना छ पहल हुनेछ । सबै खालका प्रसारण लाईन तथा प्रवेश मार्ग र निर्माण क्षेत्रका मुआब्जाका बिषय तुरुन्तै टुङ्गीने छन् । अब मुआब्जा आन्दोलन हुने छैन, राज्यले आयोजनालाई हर्जाना तिर्नुपर्ने छैन । जिल्ला माकुराको जालो जस्तै तारले ढाकेको हुनेछैन, ट्रासमिसनलाई ब्यबस्थित हुनेछ, बजार पोलरहित हुनेछन् । जिल्लामा ब्यक्तिगत होस् या ब्यबसायिक क्षेत्रले निशुल्क बिद्युत पाउनेछन् । जिल्लाभरका आवश्यक खानेपानी आयोजना (मुल तथा लिफ्टिङ्ग) संचालन हुनेछन् । मुहान खानेपानी आयोजना सकेसम्म माईक्रो हाइड्रोपावर सहीतको मोडलमा सम्पन्न हुनेछ भने खोला नदी पोखरी बाट सोलार लिफ्टिङ्ग सिष्टम सहितको हुनेछ । अब किमाथांकासम्म सरर कालोपत्रे पुग्नेछ । जो चाडो र गुणस्तरको अनी वातावरणमैत्री पनि हुनेछ ।

धेरै आशा छैन मन्त्रीज्यु धेरै कुरा माग्दैनौ पनि । तपाईं सरकारमा सधैं रहनुहोला या नरहनुहोला तर जति दिन रहनुहुन्छ उर्जा मन्त्रालयबाट प्राप्त हुने अधिकतम कुराहरू चै हुनुपर्यो। अन्य कुरा चुनावी घोषणापत्र अनुसार पहल पैरवी होस् । अझै आधा समय माननीय त रहिरनुहुनेछ, खोला दर्ता गर्ने र काम नगर्नेको लाईसेन्स खोस्नेसम्मको कुरा गर्नुभएको छ, तोकिएको समयमा आयोजना सम्पन्न गराउन स्थानीय बिस्थापित सरोकारवालाको चित्त बुझाई उचित सुरक्षा र पुर्वाधार तयार होस् । हामीलाई बिश्वास छ तपाईं केवल विद्युत उत्पादकहरुको मात्रै होईन हामी सबैको साझा उर्जा मन्त्री बन्नुनेछ, बाकी अर्को लेखमा लेख्दै गरौँला ।

अन्त्यमा, मन्त्री ज्यू एउटा काम चाँहि तत्काल गरीहाल्नु पर्ने भयो । गृह जिल्लामा बेला बेला गैरहने बिजुली को ठोस कारण पत्ता लाईदिनुपर्यो, ट्रान्सर्फमर फेर्ने हो की तार फेर्ने हो वा कर्मचारी नै फेर्ने हो की चिन्तन निर्क्योल गरिहाल्नुपर्यो । धन्यवाद ।

शुभ दशै ।

ध्रुब खड्का
खाँदबारी ३, संखुवासभा ।

सम्बन्धित समाचार