नवाैँ अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट, १२ टिमले प्रतिष्पर्धा गर्दै



संखुवासभा । आज देखि अरुणभ्याल्ली फुटबल प्रतियोगिता शुरु हुन लागेको छ । जिल्लाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा नवौं संस्करणको अरुणभ्याल्ली फुटबल प्रतियोगिता शुरु हुदैछ ।

‘सामाजिक सद्भावका लागि युवा एकता-विकृति : विसंगतिका विरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिबद्धता’ भन्ने मुलनारा सहित एडभान्स क्लबले प्रतियोगिताको आयोजना गरेको हो । ०५० सालमा स्थापना भएको क्लबले विभिन्न प्रतियोगिता हुदैं ०६४ सालदेखि अरुणभ्याल्ली रनिङ शिल्ड फुटबल प्रतियोगिता बर्सेनि दशैं र तिहारको बीचमा गर्दै आएको छ ।

फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीहरुको ब्याबसायीकरण गर्ने उद्धेश्यले मानेभञ्ज्याङ्गमा बर्सेनि फुटबल प्रतियोगिता संचालन गर्दै आएको जिल्ला फुटबल संघका अध्यक्ष तथा खाँदबारी ३ नम्बर वडाका वडाध्यक्ष भरतकुमार घिमिरेले बताए । उनले यो प्रतियोगिता विगत बर्षहरुको निरन्तरता भएको बताए।

प्रतियोगितामा जिल्लाभित्रका ख्यातीप्राप्त ९ वटा टिम र बाहिर जिल्लाका ३ टिम गरि १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजक एडभान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । जिल्लाभित्रका आयोजक एडभान्स, खाँदबारी युथ क्लब, लोहोरुङ क्लब, सेकाहा क्लब, पञ्चकन्या क्लब, तीनपोखरी क्लब, मकालु फ्रेन्डस क्लब, सभापोखरी क्लब, गाउँले फुटबल क्लब गरि ९ वटा रहेका छन् भने जिल्ला बाहिरका पाथीभरा क्लब सुनसरी, चुलाचुली क्लब धनकुटा र बेलबारी फुटबल क्लब मोरङ्गका रहेका छन् ।

आज दिउँसो एक भब्य समारोह बीच प्रतियोगिताको प्रमुख अतिथी खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटन सत्रपछि पहिलो खेल सेकाहा क्लब र खाँदबारी क्लब बीच प्रतिपस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ भने विगतका बर्षदेखि प्रतियोगिता हेर्न टिकट काटेर हेर्न पाइने ब्यबस्थापन गरेको छ ।

प्रतियोगिताका बिजेताले नगद रु. २ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि सेमिफाइनलिष्ट दुई टिमले नगद २५/२५ हजार रुपैया प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५/५ हजार रुपैया प्राप्त गर्नेछन् । आज अर्थात कात्तिक ७ देखि संचालन हुने प्रतियोगिता १२ गते समापन हुनेछ ।

प्रतियोगितामा खेलका अतिरिक्त ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीहरु समेत रहने जनाइएको छ ।

 

सम्बन्धित समाचार