नवौँ अरुण भ्याली फुटबलः सेकाहा र सभापोखरी सेमिफाईनलमा प्रवेश



कार्यक्रममा पुग्नुभएका मन्त्री राईले रेफ्रिलाई फुटबल हस्तान्तरण गर्नुहुँदै ।

खाँदबारी । संखुवासभाको मानेभञ्ज्याङमा जारी नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको तेश्रो दिन आज क्याटर फाईनल चरणका दुई खेलहरु सम्पन्न भएका छन् ।

पहिलो खेल एड्भान्स क्लव मानेभञ्ज्याङ र सेकाहा सामुदायिक विकास क्लव विच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा २–१ गोल अन्तरले सेकाहा विजेता बनेको छ । सेकाहाका लागि पहिलो गोल एन्सन राई र दोश्रो गोल विनोद राईले गरेका थिए । सेकाहाका खेलाडीले डि एरियामा गरेको गल्ति पछि पाएको पेनाल्टिको सदुपयोग गर्दै एड्भान्स क्लवका लागि कृष्ण राईले एक गोल गरेका थिए । विजेता बनेको सेकाहाले अघिल्लो खेलमा खाँदबारी युथ क्लवलाई पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको थियो । आयोजक समेत रहेको एड्भान्स क्लवले भने बाई पाएर क्वाटर फाईनलमा खेलेको हो ।

त्यस्तै दोश्रो खेल पाथिभरा फुटबल क्लव सुनसरी र सभापोखरी फुटबल क्लव संखुवासभा विच भएको थियो । खेलमा सभापोखरीले पाथिभरालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । सभापोखरीका लागि पहिलो गोल महेन्द्र लिम्बुले गरेका थिए भने दोश्रो र तेश्रो गोल क्रमस मिलन लिम्बु र जोन ग्लोरीले गरेका थिए । ग्लोरी नाईजेरियाका खेलाडी हुन् । ग्लोरी सहित दुई जना विदेशी खेलाडी टिम सभापोखरीमा समाहित छन् । सभापोखरीको विपक्षि टिम पाथिभरा फुटबल क्लवमा पनि एक विदेशी खेलाडी सामेल गरिएको थियो । तथापी पाथिभरा गोल बिहिन घर फर्किएका छन् ।

भोली सनिबार क्वाटर फाईनलका दुई खेल खेलाईने छ । पहिलो खेल लोहोरुङ क्लव पांमा र चुलाचुली क्लव धनकुटा विच हुनेछ । दोश्रो खेल पञ्चकन्य फुटबल क्लव धर्मदेवी संखुवासभा र बेलबारी फुटबल क्लव मोरङ विच हुनेछ । पहिलो खेल दिउँसो १२ बजे र दोश्रो खेल २ बजे सञ्चालन हुने कार्य तालिका छ ।

यसै विच कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेलकुद आयोजनाको अवलोकन गर्नुभएको छ । दिउँसो खेलमैदानमा आईपुग्नुभएका मन्त्री राईले खेल मैदानबाटै खोलाडी तथा आयोजकलाई सफलताको शुभकामना दिनुभएको छ । एड्भान्स क्लवले हरेक बर्ष आयोजना गर्ने फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लामा नै उत्कृष्ठ रहेका मन्त्री राईले प्रतिकृया दिनुभएको छ । मकालु अनलाईनसँगको कुराकानीमा खेल सञ्चालनको लागि प्रदेश सरकारले आवश्यक सहयोग गरेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिता कार्तिक १२ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले शिल्ड, मेडल र ट्रफी सहित नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनल खेल्ने दुवै टिमले २५,२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५,५ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेलको दिन विबिध साँगितिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार