नवौँ अरुण भ्याली फुटबलको उपाधिका लागि चुलाचुली र पञ्चकन्या क्लव भिड्ने



खाँदबारी । संखुवासभाको मानेभञ्ज्याङमा जारी नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको उपाधिका लागि पञ्चकन्या फुटबल क्लव धर्मदेवी संखुवासभा र चुलाचुली युथ क्लव धनकुटा विच प्रतिस्पर्धा हुने भएको छ । आईतबार सम्पन्न सेमिफाईनल खेलमा विजेता बन्दै उपाधिका लागि दुई क्लव भिड्ने पक्का भएको हो ।

आईतबार सम्पन्न भएको पहिलो सेमिफाईनल खेलमा चुलाचुली युथ क्लवले सेकाहा सामुदायिक विकास क्लवलाई ट्राईब्रेकरमा हराउँदै फाईनलको यात्रा तय गरेको हो । निर्धारित समयमा २, २ गोलको बराबरी पछि ट्राईब्रेकरमा चुलाचुलीले ४–३ गोल अन्तरले सेकाहालाई पराजित गरेको हो ।
त्यस्तै दोश्रो सेमिफाईनल खेलमा पञ्चकन्या फुटबल क्लवले सभापोखरी फुटबल क्लवलाई १–० गोल अन्तरले हराएको हो । पञ्चकन्याका लागि खेलको दोश्रो हाफमा ज्ञानेन्द्र भण्डारीले गोल गरेका थिए ।

चुलाचुली र सेकाहा विच भएको पहिलो सेमिफाईनल खेलमा चुलाचुलीका गोल किपर निकेश सुनदास म्यान अफ द म्याच घोषित भएका छन् । त्यस्तै सभापोखरी फटबल क्लव र पञ्चकन्या फुटबल क्लव धर्मदेवी विच भएको दोश्रो सेमिफाईनल खेलमा पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी म्यान अफ द म्याच घोषित भएका छन् । म्यान अफ द म्याचले जनहि नगद २ हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त पुरस्कार विकाश पाण्डेले सौजन्य गरेका हुन् ।

फाईनल खेल भोली दिउँसो २ बजे सञ्चालन हुनेछ । फाईनल प्रतियोगितामा गायक परेश राई लगायतका कलाकारहरुले साँगितिक प्रस्तुतीहरु समेत दिने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको विजेताले शिल्ड, मेडल र ट्रफी सहित नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनल खेलेर पराजित भएक सभापोखरी फुटबल क्लव र सेकाहा सामुदायिक विकास क्लवले प्रति टिम २५,२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५,५ हजार रुपैया प्राप्त गर्नेछन् ।

यसै विच आईतबार सम्पन्न सेमिफाईनल खेलमा एन्फा लिग कमिटिका सहसंयोजक गौरीमान राई, फुटबल संघ कोशी प्रदेश कार्य समितिका उपाध्यक्ष शिव न्यौपाने, सभापोखरी गाउँपालिका अध्यक्ष भिमबहादुर लिम्बु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । अतिथीहरुले खेलाडी तथा प्राविधिकहरुलाई शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार