खाँदबारी । सङ्खुवासभा उद्योग वाणिज्य संघको १७ औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा डेगराज बस्नेत निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न भएको संघको साधारणसभा तथा अधिवेशनबाट बस्नेतको अध्यक्षतामा ३८ सदस्यीय समिति चयन भएको हो ।
मंगलबार सुरु भएको संघको साधारणसभा तथा अधिवेशनमा संघका विभिन्न पदका लागि आंकाक्षिहरु धेरै भएपछि सहमति जुटाउन निर्वाचन प्रकृयामा समय थप गर्दै निर्विरोध कार्यसमिति चयन गरिएको थियो । सहमति जुटाउने क्रममा केही पद समेत थप गरिएको छ ।
समितिको बरिष्ठ उपाध्यक्ष सन्जीव कुमार श्रेष्ठ (राजु), उपाध्यक्षहरु जनक पौडेली र राजिव श्रेष्ठ, महासचिवमा प्रविण श्रेष्ठ र उप महासचिवमा हिमाल श्रेष्ठ चयन भएको निर्वाचन मण्डलका रमेश भट्टराईले जानकारी दिए । त्यसैगरी समितिको कोषाध्यक्षमा कविता श्रेष्ठ, सचिवहरु कुमार राज श्रेष्ठ र रविन्द्र खत्री, सह कोषाध्यक्ष मनोज कटुवाल र सह सचिवमा विक्रमरत्न शाक्य चयन भएका हुन् । नयाँ समितिको सदस्यमा अधिकांश सदरमुकाम खाँदबारीका रहेका छन् भने सदरमुकाम बाहिर सभापोखरी गाउँपालिकाका विकाश तामाङ समेत चयन भएका छन् नयाँ समितिका पदाधिकारीहरुलाई विहिबार जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रम विच प्रमाणपत्र वितरण, बधाई तथा शुभकामना दिइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम निर्वतमान अध्यक्ष कृष्णभगत प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो ।
संघको १७ औं साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अन्जन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा संघको केन्द्र, कोशी प्रदेशका प्रतिनिधि तथा विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरु, कार्यालय प्रमुख तथा प्रतिनिधि, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया