खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा अवस्थित हिमालय माध्यमिक विद्यालयको ७५ औँ बार्षिक उत्सव तथा हीरक महोत्सवको उद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरि विधिवत् रुपमा महोत्सवको उद्घाटन गरिएको हो ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शेरबहादुर पराजुलीको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, छिमेकी विद्यालयका प्रतिनिधिहरु, पूर्व विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहको अवसरमा विद्यालयलाई जिन्सि तथा नगद सहयोग प्राप्त भएको छ । वि.सं. २०५६ सालका एसएलसी समुहले २ लाख ५८ हजार रुपैयाँ लागतको साउण्ड सिस्टम उपलब्ध गराएका छन् । त्यस्तै २०४२ सालको एसएलसी समुहले नगद ४ लाख ३ हजार २ सय ५६ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै पूर्व विद्यार्थीहरु खाँदबारी २ का पर्शुराम राई र ललिता राईले नगद १ लाख १० हजार एक सय दश रुपैयाँ, खाँदबारी १ का ताराकुमार राई र दिलमाया राईले १ लाख १० हजार १ सय ५ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, पूर्व विद्यार्थी समेत रहनुभएका खाँदबारी १ निवासी सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले ५ हजार ५ सय ५५ रुपैयाँ, पूर्व विद्यार्थी लोक गायक कमल बहादुर खत्रीले ५ हजार ५ सय ५५ रुपैयाँ र पूर्व विद्यार्थी खाँदबारी १० चन्दनपुर निवासी गोविन्द प्रसाद दाहालले १ लाख १७ हजार ७ सय ७७ रुपैयाँ हस्तान्तरण गरेका छन् ।
हीरक महोत्सवको उद्घाटनसँगै अन्तर विद्यालय स्तरीय प्रतियोगिताहरु पनि सुरु भएको छ । पहिलो दिन खाँदबारी नगरपालिका स्तरीय अन्तर मावि छात्रा खोखो प्रतियोगिता सुरु भएको छ । आज पहिलो दिन लिक चरणका प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । खोखो प्रतियोगिता भोली (सोमबार) सम्पन्न हुनेछ भने जिल्ला स्तरीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता सुरु हुनेछ ।
हीरक महोत्सव अन्तरगर्तका विद्यालयको आन्तरिक प्रतियोगिताका कार्यक्रमहरु माघ ३ गतेबाट नै सुरु भईसकेको थियो । कार्यक्रम माघ ११ गते सम्पन्न हुनेछ । हीरक महोत्सवको अवसरमा हिमालय माविमा अध्ययन गरि विभिन्न क्षेत्रको उच्च ओहदामा पुगेका पूर्व विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया