खाँदबारी । चिचिला गाउँपालिकाका ८ उद्यमीलाई एड्भान्स लेभलको फर्निचर तालिम प्रदान गरिएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ८ उद्यमीलाई २० दिने तालिम दिईएको हो ।
यस अघि नै आधारभूत तालिम लिई फर्निचरको काम गर्दै आएका उद्यमीहरुलाई तालिम दिईएको हो । गत पौष १६ गते गाउँपालिकाको कार्यालय परिषरमा सुरु गरिएको तालिम आज (आईतबार) सम्पन्न भएको हो । तालिम लिनेहरुमा साजन राई, संगम राई, सेवक राई, भक्त बहादुर राई, रेवतीरवण राई, सरोज राई, धनराज राई र पूर्णराज राई रहेका छन् । उनीहरुलाई मित्रबहादुर गुरुङले प्रशिक्षण दिएका छन् ।
समापन कार्यक्रममा बोल्दै सहभागीहरुले तालिम अवधि अझ बढाएर आधुनिक माहुरीको घार, लोबेड जस्ता सामानहरु बनाउन सिक्न पाएको भए राम्रो र ब्यावसायीक हुने बताएका छन् । तालिम अवधि छोटो भएकोले चाहेको सिपहरु सिक्न नपाएको बताएका छन् । प्रशिक्षार्थीहरुले यस पटक दराज, कुर्सी, टेबल लगायतका सामानहरु बनाउन सिकेका छन् ।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा, वडा नम्बर १ का अध्यक्ष पूर्णकुमार राई, वडा नम्बर २ का अध्यक्ष दिनेश कुमार राई, वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङ लगायतका जनप्रतिनिधिहरु र गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । चिचिला गाउँपालिकामा यस अघि पनि यस्ता सिप विकास तालिमहरु थुप्रैलाई दिईएको भए पनि तालिम लिनेहरु सोचेजस्तो ब्यवसायीक हुन नसकेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले बताउनुभयो । चिचिला गाउँपालिकामा काठपातहरु पर्याप्त पाउने भएकोले प्रकृया पुर्याएर फर्निचर उद्योग सञ्चालन गरे गाउँपालिकाले थप सहयोग गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो । ब्यावसायीक बन्नको लागि घरेलु तथा साना उद्योग कार्यालयले पनि सहयोग गर्ने भएकोले ब्यावसायीक हुन अध्यक्ष शेर्पाले अनुरोध गर्नुभयो ।
समापन कार्यक्रम उद्यम विकास सहजकर्ता पुष्प राईले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया