हिमालय मावि हीरक महोत्सवः पूर्व विद्यार्थीहरुको एकपछि अर्को सहयोग



खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा अवस्थित हिमालय माध्यमिक विद्यालयले यत्ति बेला ७५ औँ बार्षिक उत्सव तथा हीरक महोत्सव मनाईरहेको छ । यस महोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरुले एकपछि अर्को सहयोग गरिरहेका छन् ।

२०६० का एसएलसी ब्याच विद्यार्थीहरुले विहिबार २ लाख ७५ हजार रुपैयाँ बराबरको साँगितिक वाद्यवादनका सामग्रीहरु हस्तान्तरण गरे । विद्यालयमा संगीत कक्षा सञ्चालन गर्न आवश्यक सामग्रीहरु पूर्व विद्यार्थीहरुले हस्तान्तरण गरेका हुन् । उनीहरुले पन्चेबाजाहरु (नरसिङ्गा, सहनाई, दमाहा, झ्याम्टा, ट्याम्को) सारङ्गी, बांसुरी, मादल, तबला, हार्मोनियम, किबोर्ड (पियानो), गितार, ड्रमसेट सहितका सांगीतिक सामग्रीहरु आज विहिबार विद्यालयलाई हस्तान्तरण गरको हुन् ।

उनिहरुले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् । कोषको वार्षिक ब्याजबाट वार्षिक रुपमा गीतसंगीतको विद्यामा अब्बल विद्यार्थीहरु छनौट गरी प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने छन् ।

यस्तै महोत्सवकै अवसरमा २०५६ सालका एसएलसी ब्याचले विद्यालयका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दा आवश्यक पर्ने साउण्ड सिस्टम खरिद गरि हस्तान्तरण गरेका छन् । उनीहरुले २ लाख ५६ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका हुन् ।

त्यस्तै २०५५ सालका एसएलसी ब्याचले दश जोड दुई तर्फको भवन क्षेत्रमा प्रवेश गर्ने प्रवेश द्वार (गेट) निर्माण गरिदिएका छन् । उक्त ब्याचले १ लाख ६० हजार रुपैयाँको लागतमा प्रवेश द्वार निर्माण गरिएको हो ।

यता दश जोड दुई ब्लगदेखि १–१० कक्षा रहेको ब्लग तर्फ आउने बाटोमा भोटखोला गाउँपालिकाका पूर्व विद्यार्थीहरुले गेट निर्माण गरिरहेका छन् । यहाँ १ लाख ५५ हजार रुपैयाँ बराबरको गेट निर्माण हुन लागेको हो ।

हिमालय माविका २०६१ सालका एसएलसी ब्याचले एक लाख रुपैयाँ बराबरको पुस्तकालयका लागि आवश्यक फर्निचर खरिद गरिदिएका छन् भने २०४२ सालका एसएलसी ब्याचले खेल मैदानका लागि जग्गा ब्यावस्थापन गर्न ४ लाख २४ हजार रुपैयाँ रकम सहयोग गरेका छन् ।

२०५७ का एसएलसी ब्याचले कार्यक्रम सञ्चालन गर्ने मञ्च यस अघि नै बनाईसकेका थिए । उक्त मञ्चलाई फराकिलो बनाउनका लागि हिमालय माविका पूर्व विद्यार्थी तथा पूर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठले ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छन् । हीरक महोत्सवको अवसरमा अन्य थुप्रै पूर्व विद्यार्थीहरुले नगद सहयोग संकलन गरिरहेका छन् ।

हीरक महोत्सवको अवसरमा विद्यालयले सहयोगको आव्हान गरेको थियो । यही अवसरमा दाताहरुबाट प्राप्त सहयोगले विद्यालयको उन्नयनमा महत्वपूर्ण भुमिका खेल्ने विद्यालयको अपेक्षा छ । दाताहरुबाट प्राप्त सहयोगले विद्यालयको आवश्यकता पूर्ती गराई शिक्षण शिकाई प्रभावकारी बनाउने विद्यालयको सोँच रहेको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शेरबहादुर पराजुली बताउनुहुन्छ ।

विद्यालयले यस पटकको महोत्सवलाई पुर्नमिलन कार्यक्रमको रुपमा पनि आयोजना गरेको छ । उर्जा तथा जलश्रोत मन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न हुने कार्यक्रममा सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई निमन्त्रणा गरिएको विद्यालयका प्रधानाध्यापक बीरबहादुर राईले बताउनुभयो । ‘सकेसम्म सवैलाई पत्राचार गर्ने प्रयास गरेका छौँ, पत्र नपुग्लाकी भनेर विभिन्न सञ्चार माध्ययम र सामाजिक सञ्जालबाट पनि निमन्त्रणा गरेका छौँ’, प्रधानाध्यापक राईले भन्नुभयो ।

महोत्सव समापनको दिन (शुक्रबार) हिमालय माविमा अध्ययन गरि विभिन्न निकायको उच्च तथा सम्मानित ओहदामा पगेका पूर्व विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सहायक प्रधानाध्यापक एवम् सुचना अधिकारी भरत कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार