खाँदबारी । पूर्वी हिमाली तथा पहाडी जिल्ला संखुवासभाको एक मात्रै तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सु र तुवाँलोले १८ दिनदेखि उडान अवरुद्ध भएको छ । गत माघ १५ देखि लगातार रुपमा बाक्लो हुस्सु र तुवाँलोका कारण जहाज अवतरण गर्न नसकेको हो ।
जहाज उडानका लागि पर्याप्त भिजिविलिटी नभएपछि १८ दिनदेखि जहाज आउन नसकेको बुद्ध एयरलाइन्स तुम्लिङटारका स्टेशन मेनेजर रामकुमार लुइँटेलले बताए । उनले जहाज आउनका लागि कम्तीमा तीन हजारदेखि पाँच हजार दुरीको भिजिविलिटी खुल्नपर्ने बताउँदै बाक्लो हुस्सु र तुवाँलोले डाँडाकाँडा नै नदेखिने गरि ढाकिएको बताए । ‘डाँडाकाँडा वरपर बाक्लो हुस्सु लागेको छ । वर्षात र हावाहुरी चले मात्रै मौसम खुल्छ र जहाज आउन सक्छ । नत्र यसै भन्न सकिने अवस्था छैन्,’ लुइँटेलले भने ।
हुस्सु र तुवाँलोले विमानस्थल नजिकैको डाडाँकाडा ढाकेको छ । करिब तीन दिनदेखि जहाज नआउँदा यात्रुहरु अलपत्रमा परेका छन् । संखुवासभा हिमाली तथा पहाडी जिल्ला भएकाले सडक यातायातको सुविधा त्यति प्रभावकारी छैन। खाँदबारीदेखि धरान–विराटनगरका आधाभन्दा बढि भाग कच्ची सडकको यात्रा गर्नुपर्छ । जिल्लामा ठूला अस्पताल र शैक्षिक संघसंस्था नहुदाँ धरान, विराटनगर र काठमाडौंनै धाउनुपर्ने बाध्यता छ।
तुम्लिङटार विमानस्थलमा निजी कम्पनीको बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले दैनिक उडान भर्दै आएको छ । यसअघि गुण एयरलाइन्स संचालनमा रहेपनि अहिले बन्द छ । नेपाल वायु सेवा निगमको जहाजले तुम्लिङटार उडान भर्न बन्द गरेको लामो समय भइसकेको छ ।
प्रतिक्रिया