खाँदबारी । संखुवासभाको वरुण बहुमुखी क्याम्पसले साँस्कृतिक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार क्याम्पस प्राङ्गणमा संस्कृति संरक्षण र प्रवर्द्धनमा युवा सहभागीता भन्ने नारा सहित वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।
विश्वविद्यालय अनुदान आयोग र खाँदबारी नगरपालिकाको साझेदारी तथा विभिन्न ब्यक्तिहरुको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको हो । रैथाने कला संस्कृतिहरुको संरक्षण एवम् पुस्तान्तरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा भोटे सेलो, कौडा नृत्य, सोरठी नृत्य, राउटे नृत्य, संगीनी नाच, कुमाल नृत्य, हुर्रा नाच, साकेला सिलि, धान नाच, मारुनी नृत्य आदिलाई एकै स्टेजमा देख्न पाइनेछ ।
प्रतियोगितामा सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम जिल्लाका प्रतिनिधिमुलक क्याम्पस, जिल्ला भित्रका सबै क्याम्पसहरु र संखुवासभा भित्रका एक स्थानीय तह एक माध्यमिक विद्यालय (११/१२ संचालित)लाई आमन्त्रण गरिएको क्याम्पसका उपप्राध्यापक एवम् प्रतियोगिता संयोजक नवराज कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगिलाई क्रमस नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमको दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा रहेको कला तथा सीपलाई सम्बर्द्धन तथा प्रोत्साहन गर्न विद्यार्थीहरुले निर्माण गरेका विभिन्न किसिमका हस्तकला, राडीपाखी, डालो, सिलाम साक्मा, अल्लो निर्मित पोशाक तथा विभिन्न सजावटका सामग्रीहरु पनि प्रदर्शनी एवम् बिक्रीमा राखिने क्याम्पस प्रशासनले जनाएको छ । भब्य रुपमा आयोजना गरिने उक्त कार्यक्रममका अभिभावक, विद्यार्थी, पुर्वविद्यार्थी, शिक्षाप्रेमी, संगीत तथा कलाप्रेमी, समाजसेवीहरुलाई विद्यालयले आमन्त्रण गरेको छ ।
प्रतिक्रिया