खाँदबारी । सङ्खुवासभामा बृहद पदमार्ग निर्माण हुने भएको छ । तुम्लिङटारबाट खाँदबारी, चिचिला, सिलिचोङ, मकालुको नुम, गुफापोखरी, बसन्तपुर, तिनजुरे मिल्के जलजले जोड्ने गरि पदमार्ग निर्माण हुने भएको हो ।
स्वीजरल्याण्ड सरकार, नेपालको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागत साझेदारीमा निर्माण हुने बताईएको छ । यस परियोजनाको लागि चिचिला गाउँपालिका क्षेत्रमा पर्ने रुटका बारेमा आज (मंगलबार) छलफल गरिएको छ । योजना सञ्चालनका लागि परियोजना सञ्चालक सँस्था हेल्भेटास नेपालका पदाधिकारीहरुको उपस्थितिमा चिचिला गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु र स्थानीयकको सहभागितामा छलफल कार्यक्रम सुरु सञ्चालन गरिएको हो ।
छलफल कार्यक्रममा पदमार्ग परियोजनाको बारेमा जानकारी, पदमार्गले जोड्ने स्थानीय तहहरु, लगानीका लागि साझेदार सरकारहरुको भुमिका लगायतको बारेमा जानकारी गराईएको थियो । यस परियोजना सञ्चालनका लागि स्वीजर ल्याण्ड सरकारबाट ५५ प्रतिशत, संघीय सरकारबाट ८ प्रतिशत, कोशी प्रदेश सरकारबाट १९ प्रतिशत र स्थानीय सरकारको १८ प्रतिशत लागत साझेदारी रहने हेल्भेटास नेपालको तर्फबाट पदमार्ग संयोजक सोनी योञ्जन तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा चिचिला गाउँपालिका भित्र पदमार्गको सम्भावित रुटको बारेमा छलफल गरिएको थियो । चालु आर्थिक बर्षबाट नै यस परियोजना सञ्चालन गरिने र सोको लागि फागुन मसान्त भित्र पदमार्गको एलाईनमेन्ट तय गर्ने र चैत्र मसान्त भित्रमा यस बर्ष काम गर्न सकिने बजेटको अनुमान गर्नु पर्ने आयोजनाका संस्थागत तथा संघीयता संयोजक अर्जुन विश्वकर्माले जानकारी दिनुभयो ।
मंगलबार आयोजित छलफलमा चिचिला गाउँपालिकाका स्थानीय तथा जनप्रतिनिधिहरुले केहि सम्भावित एलायनमेन्टको बारेमा सुझाव दिए पनि गाउँ कार्यपालिकाको पूर्ण बैठक तथा सरोकारवालाहरुको छलफलपछि अन्तिम टुंगो लगाउने बताएका छन् । गाउँपालिका उपाध्यक्ष मनकला राईको अध्यक्षतामा छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिक्रिया