लिस्बन । गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिका संयोजक शेष घले पोर्चुगल आउने भएका छन् । गैरआवासीय नेपाली संघ, पोर्चुगलले आगामी मार्च २५ मा लिस्बनमा आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन घले आउन लागेका हुन् ।
सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले काम थालेसँगै पोर्चुगलको राष्ट्रिय समन्वय समितिले पनि अधिवेशनका लागि तिब्र गतिमा तयारी गरिरहेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय समितिको एकताको महाधिवेशन ३-५ मे, २०२५ मा काठमाडौं हुँदैछ ।
यसै सन्दर्भमा युरोप भ्रमणमा आउन लागेका उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई पोर्चुगलको कार्यक्रममा निमन्त्रणा गरिएको कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक तथा एनआरएनए, पोर्चुगलका उपाध्यक्ष सुजन लामा मोक्तानले जानकारी दिनुभयो ।
उच्चस्तरीय समितिले यसअघि नै अनलाइन मार्फत सदस्यता खुला गरिसकेको छ । आगामी मार्च ३१ सम्म सदस्यताका लागि आवेदन दिन सक्ने पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले जानकारी दिनुभयो । यस पटक सदस्यता निशुल्क भएको पनि काफ्लेले जानकारी दिइन् । सदस्यता www.nrnahlc.com बाट लिन सक्नेछ ।
प्रतिक्रिया