ताप्लेजुङ । ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य प्रस्तुत गरिएको छ । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सिक्किमको प्रसिद्ध सांस्कृतिक सम्पदा सिंघी नृत्य पहिलोपटक ताप्लेजुङमा प्रस्तुत गरिएको हो ।
आयोजक लाखे जात्रा सञ्चालक समितिले छिमेकी राष्ट्र भारतको सिक्किमबाट विशेष रूपमा कलाकारहरू ल्याएर यो नृत्य प्रस्तुत गरेका थिए । सिंघी नृत्य हिम चितुवाको प्रतीकात्मक रूपसँग सम्बन्धित सिक्किमको मौलिक नृत्यको रुपमा लिन सकिन्छ । जसले हिमाल, प्रकृति र संरक्षणको सन्देश दिने गर्दछ । विशेष पोशाक र मुखौटा लगाएर प्रस्तुत गरिने यो नृत्य निक्कै आकर्षक हुने गर्छ ।
सिंघी नृत्यका लागि भारतको सिक्किमबाट सात जना कलाकारहरू ल्याइएको लाखेजात्रा सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । गोल्डकपको उद्घाटनमा सिंघी नृत्यसँगै च्याब्रुङ, लाखे, चण्डी, तामाङ सेलो लगायतका सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिए । तर पहिलोपटक ताप्लेजुङमा प्रस्तुत सिंघी नृत्य उद्घाटन समारोहको मुख्य आकर्षक बन्यो ।
यससँगै उद्घाटन खेलमा द योङ ब्रदर्स क्लब इटहरीले आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेलमा सुरुवाती अग्रता लिएको आयोजक टोलीले थप गोल गर्न नसकेपछि हार बेहोर्नु परेको हो ।
यस वर्षको प्रतियोगितामा विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १५० सिसीको यामाहा मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
गोरखापत्रबाट साभार ।


प्रतिक्रिया