खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिकाले प्रशासनिक घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले काठ्माण्डौ, ईटहरी र खाँदबारीमा घुम्ति शिविर सञ्चालन गर्ने भएको हो ।
भदौ ६ र ७ गते काठ्माण्डौमा, ९ र १० गते ईटहरीमा र १२ गते खाँदबारीमा शिविर सञ्चालन गर्ने भएको हो । काठ्माण्डौ उपत्यका तथा आसपास बसोबास गरेकाहरुलाई लक्षित गरि काठ्माण्डौमा र तराईका विभिन्न जिल्लामा बसोवास गर्नेहरुलाई लक्षित गरि ईटहरीमा शिविर केन्द्र तोकिएको सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज राईले जानकारी दिनुभयो । विभिन्न कारणले आफ्नो पालिका आईपुग्न नसकेकाहरुलाई सेवा पुर्याउने उद्देश्यका साथ शिविरको आजोजना गर्न लागिएको राईले जानकारी दिनुभयो ।
यस बर्ष सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण गर्दा ब्यक्ति स्वयमको उपस्थितिमा बायोमेट्रिक गर्नु पर्ने भएकोले पनि अशक्तहरुलाई पालिका आउन समस्या छ । यस्तो समस्यामा परेकाहरुलाई लक्षित गरि पालिकावासी भएकै ठाउँमा वा नजिकैबाट सेवा दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत प्रविण राईले बताउनुभयो ।
यस शिविरबाट सामाजिक सुरक्षा, राष्ट्रिय परिचयपत्र, मालपोत सम्बन्धि सेवाहरु दिईने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो । पञ्जिकरणसँग सम्बन्धित सम्पूर्ण कार्यहरू, साममजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण, विभिन्न वडा तथा पालिकाबाट दिइने सिफारिसहरु उपलब्ध गरिने उहाँले बताउनुभयो । त्यस्तै राष्ट्रिय परिचयपत्रका कार्यहरु, मालपोत सम्बन्धि कार्यहरु (तिरो तिर्ने) लगायतका कामहरु गरिने राईले जानकारी दिनुभयो ।
शिविर बारे थप जानकारी लिनका लागि पालिकाका कर्मचारीहरु वा नजिकैको जनप्रतिनीधिहरुलाई सम्पर्क गर्न राईले आग्रह गर्नुभयो । 


प्रतिक्रिया