जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी गर्नेलाई कारबाहीको माग



धरान । धरान उपमहानगरपालिकामा जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी गर्नेहरुलाई स्थानिय तथा राजनीतिकर्मीहरुले कारबाहीको माग गरेका छन्।

धरान उपमहानगरपालिकामा गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन साँझदेखि धरानका विभिन्न राजनीतिक दलका कार्यालयहरूदेखि व्यापारीहरुका पसल र स्थानीय नेताका घरहरुमा समेत प्रदर्शनकारीहरुले तोडफोड तथा आगलागि गरेका थिए । उक्त घट्नामा संलग्न प्रदर्शनकारीहरुलाई कारबाहीको माग गर्दै मंगलबार ईलाका प्रहरी कार्यालय धरानमा माग गरेका छन् ।

धरानका पूर्व नगर प्रमुख मनोज मेन्याङबोको होटल कञ्चनजङ्गामा तोडफोड, आगजनी गरी करिब ६ लाख रुपैयाँ नगद लुटिएको दाबी गर्दै १२ जना विरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता गराउनुभएको छ । “मसँग स्पष्ट तस्बिर र भिडियो प्रमाणको रुपमा रहेको छ । दोषीलाई कानुनको कठघरामा उभ्याउनु पर्छ,” उहाँले भन्नुभयो ।

सोही दिन धरानमा कांग्रेस र माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, पुर्व उपमेयर मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङ लगायतका घरहरूमा तोडफोड तथा आगो लगाएको थियो । यो घटनाले शान्त रुपमा रहेको धरान सहर आतङ्कित बनाएको छ ।

निवर्तमान नगर प्रमुख तिलक राई लगायत धरानका सबै राजनीतिक दलहरूले दोषीहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै सरकार र सुरक्षा निकायलाई कठोर कदम चाल्न साथै निष्पक्ष छानबिन र कारबाहीको माग गर्नुभएको छ ।

जेनजी प्रदर्शनमा आगजनीमा संलग्न दुई जनाले आत्मसमर्पण गरेको र थप अन्य अभियुक्तहरुलाई समेत पक्राउ गर्ने कार्य भईरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुले बताउनुभयो । संलग्न सबैलाई कानुनी कारबाहीमा ल्याउने उहाँले प्रतिबद्धता गर्नुभयो ।

रासस

सम्बन्धित समाचार