खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकामा असोज ४ र ५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । हेल्पिङ ह्याण्डस् हेल्थ एजुकेसनको सहकार्यमा चिचिला गाउँपालिकाको आयोजना तथा मनकामना अस्पताल तुम्लिङटारको प्राविधिक सहयोगमा मत्स्यपोखरी र दिदिङमा शिविर सञ्चालन हुने भएको हो ।
४ गते मत्स्येपोखरी सामुदायिक भवनमा र ५ गते दिदिङ स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुन लागेको हो । शिबिरबाट जेनेरल फिजिसियन, आँखाको जाँच, ईसिजि सेवा, निशुल्क औषधी वितरण, निशुल्क चस्मा वितरण र पाठेघर आङ खस्ने समस्याको निशुल्क शल्यकृया बारे परामर्श सेवा दिईने गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । उक्त शिविरहरुमा पायक पर्ने स्थानबाट सेवा लिन गाउँपालिका अध्यक्षले आग्रह गर्नुभयो ।
गत आर्थिक बर्षमा नै अन्य अस्पतालहरुको प्राविधिक सहयोगमा निशुल्क शिविरको आयोजना गर्न लागिएपनि प्राविधिक समस्याले रोकिएको थियो । अहिले मनकामना अस्पताल तुम्लिङटारको सहयोगमा टाढाको अस्पताल जान नसक्ने पालिकावासीहरुलाई स्वास्थ्य सेवा दिन लागिएको अध्यक्ष शेर्पाले बताउनुभयो । पालिकाले निर्णय गरि अस्पतालका सञ्चालक समाजसेवी नारायण श्रेष्ठलाई शिविरको लागि अनुरोध गर्दा उहाँबाट स्वीकृति प्राप्त भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
चिचिलामा अन्य रोगहरुको अलवा महिलाहरुका आङ खस्ने समस्या भएको तर अरुलाई भन्न अप्ठ्यारो मानेर रोग लुकाएर राख्ने गरेको पाईएको अध्यक्ष शेर्पाले बताउनुभयो । त्यस्ता समस्या हुने आमा दिदिबहिनीहरुलाई रोग लुकाएर नराख्न समेत अनुरोध गर्नु भयो ।


प्रतिक्रिया