खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिकामा निर्माणाधिन अपर संखुवा जलविद्युत आयोजना परिवारले जेन्जी पुस्ताको आन्दोलनमा सहिद बनेका प्रबिन कुलुङको परिवारलाई आर्थिक सहयोग गरेको छ । जलविद्युत आयोजनाका पधाधिकारीहरु, सञ्चालक, कर्मचारी तथा मजदुरहरुले ब्यक्ति–ब्यक्तिबाट रकम संकलन गरि सनिबार सहिद परिवारलाई हस्तान्तरण गरेका हुन् ।
आयोजना परिवारबाट संकलित १ लाख ७४ हजार ३ सय पाँच रुपैयाँ सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङ लगायतका जनप्रतिनीधि तथा कर्मचारीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो । अपर संखुवाको प्रवद्र्धक ह्याप्पि इनर्जी प्रालि, निर्माण कम्पनीहरु सुजता कम्पनी प्रालि, निउरेनी कन्ट्रक्सन एण्ड सप्लायर्स र सितल जालपा कन्स्ट्रक्सन प्रालिमा आवद्ध पधाधिकारी, कर्मचारी र मजदुरहरुबाट संकलित रकम हस्तान्तरण गरिएको ह्याप्पि इनर्जीका कार्यकारी अध्यक्ष ईन्द्र बिष्टले जानकार दिनुभयो । यस कम्पनीहरुका कार्यकारी अध्यक्ष, कार्यकारी निर्देशक, निर्देशस, सञ्चालक, कर्मचारीहरु र मजदुरबाट स्वईच्छाले संकलन गरिएको रकम हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
सरकारले सहिद परिवारलाई राहत दिने घोषणा गरेपनि विबिध कार्यमा तत्काल खर्च आवश्यक पर्न सक्ने महसुस गरेर अपर संखुवामा आवद्ध ब्यक्ति–ब्यक्तिबाट स्वईच्छाले रकम संकलन कार्य गरिएको कार्यकारी अध्यक्ष विष्टले बताउनुभयो । ‘भुगोल, परिवेश, समाजबारे हामीलाई सबै थाहा छ, हाम्रो सानो सहयोगले पनि केहि काम टर्न सक्छ भनेर सहयोग संकलन कार्य सुरु गरेका हौँ’, अध्यक्ष विष्टले भन्नुभयो । उक्त रकम प्रोजेक्टबाट पनि सहयोग गर्न सकिने भएपनि आम सर्वसाधारणको लगानी भएकोले आयोजनामा कार्यरतहरुबाट नै संकलन गरेर सहयोग गर्ने सल्लाह भए बमोजिम संकलन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङ, वडा नम्बर ३ का अध्यक्ष प्रतापसिंह तामाङ, अपर संखुवा जलविद्यूत आयोजनाका प्रोजेक्ट ईञ्जिनियर ओम गुरुङ, साईट ईञ्चार्ज सुर्य खड्का, पिआरओ भुपेन्द्र कुलुङ लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । ह्याप्पि इनर्जी प्रालिले संखुवाखोलाबाट ४० मेगावाट क्षमताको विद्युत उत्पादन कार्य गरिरहेको छ ।
प्रबिन कुलुङले राज्यको बेथिति बिरुद्धको काठ्माण्डौको आन्दोलनमा सहभागि हुने क्रममा भदौ २४ गते प्रहरीको गोली लगेर ज्यान गुमाएका थिए । कुलुङको शव नेपाली सेनाको हेलिकप्टरबाट ताम्कु ल्याई कुलुङ परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।


प्रतिक्रिया