दशैँ नजिकिएसँगै विराटनगरको बजारमा बढ्यो चहलपहल



 

विराटनगर । नेपालीहरूको महान् चाड दशैं नजिकिएसँगै विराटनगरको बजार क्षेत्रमा चहलपहल बढेको छ । किनमेलका लागि उपभोक्ताहरू आउन थालेसँगै व्यापारीहरू पनि व्यस्त भएका छन् । विराटनगरको जलजला चोक सहित मुख्य बजार क्षेत्रमा यतिबेला उपभोक्ताको बाक्लो भीड लाग्ने गरेको छ ।

जेनजी आन्दोलनका कारण केही दिन ठप्प भएको व्यवसाय पुनः लयमा फर्किन थालेसँगै व्यापारीहरू उत्साहित भएका छन् । जलजला चोकमा व्यवसाय गर्दै आएका जितेन कुमार पासवानका अनुसार दशैँको किनमेल गर्न आउने उपभोक्ताको संख्या दिनहुँ बढ्दो छ ।

‘व्यापार क्रमशः बढिरहेको छ । उपभोक्ताहरूको भीड दिनहुँ बढिरहेको छ’, उनले भने, ‘विस्तारै व्यवसाय लयमा फर्किने क्रममा छ ।’ उपभोक्ताहरू दशैँका लागि लत्ताकपडासँगै खाद्यान्न खरिद गर्न थालेका छन् । विशेष गरेर दिउँसोको समयमा भन्दा साँझको समयमा उपभोक्ताको भीड धेरै हुनेगरेको उनले सुनाए ।

दशैँको सामान खरिद गर्न बजार आएकी विराटनगर-१ पोखरीयाकी रोजिना अधिकारीले स्थानीय बजारमा किनमेल बढ्दा खुसी व्यक्त गरिन् । बजारमा भीडभाड बढ्दा चाडपर्वको रौनक छाएको छ ।

आगामी दिनमा थप व्यापार बढ्ने अपेक्षासहित व्यापारी खुसी छन् । दशैँसँगै तिहार र छठ पर्वमा पनि व्यापार बढ्नेमा उनीहरू विश्वस्त छन् ।

रासस

सम्बन्धित समाचार