सुनसरी : सुनसरीको धरानमा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड घटनामा संलग्न १५० बढीको नाम किटान गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता भएको छ। एमाले, कांग्रेस र माओवादी कार्यालय तथा निजी निवासमा आगजनी तथा तोडफोड गर्नेहरूविरुद्ध छुट्टाछुट्टै उजुरी परेको प्रहरीले जनाएको छ।
पूर्वमेयर मनोज मेन्याङ्बो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, कांग्रेस नेताहरू उमेश थापा, सुजेन्द्र तामाङ र कार्यपालिका सदस्य सिर्जना नेपाल तथा कांग्रेस, एमाले र माओवादीले पार्टी कार्यालय जलाउनेहरूलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै उजुरी दिएका छन्।
धरानमा आगजनी र तोडफोड गर्ने पत्रकार बिमल शाक्य, संगीतकार हेम सुब्बा, मिलन बान्तवा राई,दिपचन्द्र राई (कान्छी) लगायतको पहिचान भइसकेको छ ।
एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले पार्टी कार्यालय तोडफोड र जलाउनेहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्। माओवादी केन्द्र धरानका अध्यक्ष उद्दव लिम्बूले समेत पार्टी कार्यालय जलाउने ४० जना पहिचान गरी उजुरी दिएको बताए।
पीडितहरूले प्रहरीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वमेयर मेन्याङ्बोले उजुरी दिए पनि आफ्नै घरमा आगजनी गर्नेहरूलाई अहिलेसम्म पक्राउ नगरिएको भन्दै गुनासो गरेका छन्।
स्थानीय राजनीतिक दल र सर्वसाधारणले अराजकता उक्साउने र सहभागी हुनेलाई कडाभन्दा कडा सजाय दिन सरकार र प्रहरी प्रशासनलाई आग्रह गरेका छन्। ईलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले पहिचान भएका व्यक्तिहरूलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन गरिएको र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।
उनले आगजनीमा सम्लग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनुभयो ।
रासस


प्रतिक्रिया