सञ्चारमन्त्रीलाई चिचिला अध्यक्षको अनुरोधः मकालु बेसक्याम्प क्षेत्रमा मोबायल नेटवर्क चलोस



खाँदबारी । पदभार ग्रहणसँगै देशको मुख्य सहरी क्षेत्रमा ‘फ्रि वाईफाई’को ब्यवस्था गर्ने घोषणा गरेको सञ्चार, सुचना तथा प्रविधि मन्त्री जगदिस खरेलसँग गाउँ तथा दुर्गम बस्तिका जनताहरु त्यत्ति खुसी देखिएन । यहि क्रममा संखुवासभाको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले पनि दुर्गम बस्तिहरुलाई पनि उत्तिकै प्राथमिकतामा राख्नु पर्ने बताउनुभएको छ ।

आफ्नो फेसबुकमा पोष्ट गर्दै संखुवासभाको महत्वपूर्ण पर्यटन क्षेत्रमा अहिले पनि सम्पर्क विहिन बन्नु परेको उल्लेख गर्नुहुँदै त्यता ध्यान दिनु पर्ने सुझाव दिनुभयो । जिल्लाको पर्यटकीय क्षेत्रहरु मकालु बेसक्याम्प, शिवधारा लगायतका क्षेत्रमा अझै पनि मोबायलको नेटवर्क नभएकोले थुप्रै पर्यटकहरुले समेत ज्यान गमाउनु परेको उहाँले उल्लेख गर्नुभएको छ । यस विषयमा विगत बर्षदेखि नै नेपाल सरकारलाई अनुरोध गर्दा सुनुवाई नभएको अध्यक्ष शेर्पाको गुनासो छ । पर्यटन क्षेत्रको विकास र प्रवर्धनको लागि सञ्चार सुविधा अति आवश्यक रहेकोले त्यस तर्फ ध्यान दिन अध्यक्ष शेर्पाले अनुरोध गर्नुभयो ।

उहाँको यो अनुरोध तथा ध्यानाकर्षणमा प्राय सवैको समर्थन रहेको पाईएको छ । अध्यक्षले सहि विषय उठाएको र पर्यटन क्षेत्रमा सञ्चार सुविधा अत्यावश्यक रहेकोले त्यस तर्फ सरकारको ध्यान जान अत्यावश्यक रहेको संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतको भनाई छ ।

सम्बन्धित समाचार