छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित



धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको छ । अस्थायी र करार सेवामा नियुक्त गरिएका स्वास्थ्यकर्मी, शिक्षक लगायत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको हो ।

कर्मचारी हटाएपछि वडा नम्बर २ र ५ का चार वटा स्वास्थ्य चौकी बन्द भएका छन् । जसबाट स्थानीय बिरामी हुँदा सामान्य उपचार र आवश्यक औषधि समेत पाउन सकेका छैनन् । स्वास्थ्य चौकी बन्द हुँदा सामान्य उपचारका लागि पनि बाध्य भएर दुईरतीन घण्टाको दुरीमा रहेको जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता आइपरेको स्थानीयको गुनासो छ ।

सिटामोल लिन पनि जिल्ला अस्पताल पुग्नुपर्ने अवस्था आएको वडा नम्बर ५ का स्थानीय दलबहादुर लिम्बुले बताए । ‘सामान्य औषधोपचारका लागि बारम्बार वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा धाएँ’, उनले भने, ‘तर स्वास्थ्य केन्द्र बन्द थियो । अहिलेपनि बन्द छ ।’

पहिला सामान्य रुघाखोकी, ज्वरो र ग्यास्ट्रिकको औषधी वडाकै स्वास्थ्य केन्द्रबाट ल्याउने गरेको उनले स्मरण गरे । स्वास्थ्य केन्द्र बन्द भएसँगै अब सामान्य बिरामी हुँदा पनि सिधुवा र धनकुटा पुग्नुपर्ने अवस्था आएको उनले बताए ।

पालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार २०८२ असोज २१ गतेदेखि लागू हुनेगरि अस्थायी तथा करार सम्झौता रोक्का गरेको जानकारी गराएको थियो । सोही अनुसार गाउँपालिकाले अस्थायी तथा करार सम्झौता रद्द गरेको थियो ।

गाउँपालिकाका वडामा संचालनमा रहेका स्वास्थ्य चौकी बन्द हुँदा स्वास्थ्य कार्यालयबाट सञ्चालन हुँदै आएका ल्याब, बर्थिङ सेन्टर लगायतका सेवा पूर्णरूपमा ठप्प भएका छन् । बिरामी भएर स्वास्थ्य चौकी पुग्दा कार्यालय सहयोगीले अन्दाजको भरमा औषधी दिनेगरेको स्थानीयले गुनासो गरेका छन् ।

वडा नम्बर ४ स्थित तेलिया स्वास्थ्य चौकीमा अहेव ९अस्थायी० प्रदिप ओझाले कर्मचारी निकाल्नु मात्रै समस्याको समाधान नभएको बताए । उनले यसबाट स्थानीयलाई सास्ती थपिएको उल्लेख गरे ।

स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवा पूर्णरूपमा ठप्प हुँदा स्थानीय मौलिक हक अधिकारबाट बञ्चित भएका बताए । यस्तै स्वास्थ्य चौकीबाट अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि काम हुँदै आएको थियो । कर्मचारी हटाएसँगै उक्त सेवा पनि प्रभावित भएको ओझाले बताए ।

यस्तै गाउँपालिका र वडाका अन्य कर्मचारीहरू हटाइएपछि सूचना प्रविधि, पञ्जिकरण, रोजगार, राजस्व संकलन समेत प्रभावित भएको छ । बजार तथा घरबाट निस्किने फोहरमैला व्यवस्थापन पनि प्रभावित बनेको छ । प्रारम्भिक बाल शिक्षकहरू हटाइँदा विद्यालयको पठनपाठनमा समेत असर परेको छ ।

संगालोखबरबाट साभार

सम्बन्धित समाचार