संखुवासभामा खुकुरी देखाएर भाग्न खोजेपछि गोली हानेर पक्राउ



खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीमा खुकुरी देखाएर भाग्न खोजेपछि चोरी आरोपित एकजनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।

आइतबार दिउँसो खाँदबारी नगरपालिका–१ स्थित बसपार्क क्षेत्रबाट खाँदबारी नगरपालिका–६ घर भएका ३१ वर्षीय रुद्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

मैनालीका अनुसार विश्वकर्मा ६ वर्ष जबरजस्ती करणी मुद्दामा कारागार बसेर सजाय भुक्तान गरी निस्केका थिए। कारागारबाट निस्किएपछि ६,७ वटा चोरीको उजुरी परेकाले विशेष सूचनाका आधारमा बसपार्क क्षेत्रबाट पक्राउ गर्न खोज्दा खुकुरी देखाएर भाग्न खोजेपछि दाहिने तिघ्रामा गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी मैनालीले जानकारी दिनुभयो ।

विश्वकर्माको प्रहरीको निगरानीमा जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार