अरुण तेश्राेका सराेकारवाला विच अन्तरकृया कार्यक्रम: एक महिनामा माग पुरा नभए बाटाे बन्द गर्ने चेतावनी



खाँदबारी । संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताकाे अरुण तेश्राे जलविद्युत आयाेजनाकाे प्रभावित क्षेत्रका नागरिकहरु तथा सराेकारवालाहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा खाँदबारी नगरपालिकाकाे सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा, सिलिचाेङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङ, लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, आयाेजना विकास कम्पनी प्रमुख कार्यकारी अधिकृत राजेश कुमार चण्डेल, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया लगायतका सरकारी पदाधिकारीहरुकाे उपस्थितिमा कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।

कार्यक्रममा प्रभावित क्षेत्रका वडा अध्यक्षहरु तथा नागरिकहरुकाे उपस्थिति रहेकाे थियाे । अन्तरकृया कार्यक्रममा आयाेजनाबाट स्थानीयले सास्ति पाएकाे तर त्यसकाे सुनुवाई नभएकाे गुनासाे गरेका थिए । प्रभावित क्षेत्रका नागरिकहरुले आफ्नाे जग्गाकाे मुआब्जा लिनकाे लागि बर्षाैदेखि आन्दाेलन गरेपनि अझै सबै जग्गाकाे मुआब्जा नपाएकाे गुनासाे गरेका छन् । अबकाे एक महिनामा पनि बाँकी रहेकाे छुट मुआब्जा नपाए प्रवेश मार्ग पुन: बन्द गर्ने चेतावनी दिएका छन् ।

आयाेजनाबाट स्थानीयले पाएकाे समस्याकाे बारेमा लगानी बाेर्डमा कुरा राख्दा सुनुवाई नभएकाे चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले बताउनुभयाे । लगानी बाेर्ड नेपाल सरकारकाे प्रतिनिधि भए पनि स्थानीय सरकारलाई बेवास्ता गरेकाे शेर्पाले गुनासाे गर्नुभयाे ।

पछिल्लाे समय आयाेजना निर्माण पक्षसँग स्थानीय सरकारकाे दुरी बढेकाे सिलिचाेङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयाे । कत्तिपय भाषाकाे अज्ञानताकाे कारण समेत समस्या आएकाेले प्रभावकारी काम गर्ने गरि भाषा सहजकर्ता राख्नु पर्ने उहाँले बताउनुभयाे । परियाेजनामा काम गर्ने नेपाली कामदारहरुबाट समेत चित्त बुझ्दाे ब्यावहार नभएकाे बक्ताहरुले बताएका छन् ।

केहि महिनाअघि मात्र संखुवासभाकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा आउनुभएका सिर्जना थपलियाकाे तदारुकताकाे प्रसंशा गरिएकाे थियाे । कार्यक्रममा बाेल्नुहुँदै प्रजिअ थपलियाले आयाेजना प्रभावितहरुकाे समस्यहरुकाे चेकलिष्ट तयार पारेर काम सुरु गरेकाे र नतिजाउन्मुख रहेकाे बताउनुभयाे । अधिकांस स्थानीयकाे माग जायज रहेकाे र त्यसकाे निराकरण गर्नु पर्ने लगानी बाेर्डका सिईओ ज्ञावालीलाई ध्यानाकर्ण गराउनुभयाे ।

जिल्ला समन्वय समिति‍ प्रमुख सुमन शाक्यले स्थानीयलाई समस्यामा पारेर प्राप्त हुने उपलब्धि ठुलाे मान्न नसकिने प्रतिकृया दिनुभयाे । पर्याप्त सम्बाद र छलफलले सबै जसाे समस्याकाे समाधान हुने भएकाेले समयमा नै समस्याकाे निदान गर्नु पर्ने उहाँले बताउनुभयाे । हालकाे सिईओ ज्ञवाली नतिजामुखी काममा पाेख्त रहेकाे सुनेकाेले उहाँबाट ठुलाे अपेक्षा राखिएकाे शाक्यले बताउनुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै लगानी बाेर्डका सिईओ ज्ञवालीले आगामी दिनमा स्थानीय सरकार तथा प्रभावितहरुकाे जनसम्पर्क नजिक बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । आफुहरु विदेशी लगानीकर्ता र नेपाल सरकारकाे तर्फबाट प्रतिनीधि मुलक जिम्मेवारीमा रहेकाेले दुवै पक्षलाई समान रुपमा हेरेकाे बताउनुभयाे । विदेशी लगानीकर्ताहरुलाई असहज बनाई लगानीकाे वातावरण विथाेल्न नहुनेमा समेत सवै सचेत बन्नु पर्ने उहाँले बताउनुभयाे । कार्यक्रममा उठेका प्रश्न, जिज्ञासा तथा गुनासाेहरु आफुले ग्रहण गरेकाे उहाँले बताउनुभयाे ।

कार्यक्रममा अरुण तेश्राे जलविद्युत परियाेजनाकाे हालसम्मकाे प्रगति प्रतिवेदन पेश गरिएकाे थियाे । उक्त प्रतिवेदन अनुसार हालसम्म ७१ प्रतिशत काम सम्पन्न भएकाे छ ।

सम्बन्धित समाचार