विराटनगर । प्रतिनिधिसभा पुन:स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरिरहँदा कांग्रेसमा उम्मेदवार सिफारिसको रस्साकस्सी चलिरहेको छ । कांग्रेस विधान अनुसार क्षेत्रीय समितिबाटै उम्मेदवारको नाम सिफारिस हुनुपर्छ ।
नेताहरू नाम सिफारिस गराउन यति बेला आफ्नो निर्वाचन क्षेत्रमा आउन थालेका छन् । सँगै क्षेत्रीय समिति र जिल्ला समितिमा रहेका नेताहरूसँग भेटघाट र सम्पर्क बाक्लो बनाउन थालेका छन् ।
यसैबीच मोरङ क्षेत्र नम्बर ३ बाट सुनिल शर्माको एकल नाम सिफारिस गरिएको छ । क्षेत्रीय समितिको बैठकले शर्माको एकल नाम सिफारिस गरेको हो । एमालेका भानुभक्त ढकाललाई हराउँदै उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
जेन-जी आन्दोलनपछि पार्टीभित्र नयाँ पुस्ताले उम्मेदवार बन्नका लागि दबाब दिएका छन् । युवाहरूको दबाब बढेपछि निरन्तर लडिरहेकाको नाम सिफारिसमा सकस भएको नेताहरू बताउँछन् ।
कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयसहित सर्कुलर पठाइएको छ । जसमा मंसिर २३ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समितिले उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला समितिमा पठाउनु पर्नेछ । जिल्ला समितिले मंसिर २६ भित्र प्रदेशमा पठाउनुपर्नेछ ।
नेपाली कांग्रेस कोशीका उपसभापति रमेशजङग रायमाझीले माघ ११ को राष्ट्रियसभा सदस्य र फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने काम सुरू भएको बताउनुभयो।
उनले भने, ‘केन्द्रीय समितिले पठाएको सर्कुलर अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिको बैठक बसी नाम सिफारिस गर्ने काम भइरहेको छ । तोकिएको समय सीमाभित्रै जिल्लामा नाम सिफारिस हुन्छ । जिल्लामा आएको नामलाई प्रदेश समितिमा पठाइने छ । ’
उम्मेदवारको नाम सर्वसम्मत नटुङ्गिए पार्टीको विधानको धारा ३३ ९२० र धारा ६९ बमोजिम कम्तीमा एकजना महिलासहित ३ जना सिफारिस गर्न कांग्रेसले निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेलगायतका नेताहरू हिजो प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेर सर्वोच्च गएका छन् । घिमिरेसँगै सचेतक सुशीला थिङ, दीपक खड्कालगायत सर्वोच्च पुगेका थिए ।
नेपालप्रेसबाट साभार


प्रतिक्रिया