सिसुवाखोला स्वास्थ्य चौकी भवन उद्घाटन



खाँदबारी । संखुवासभाको सिलीचोङ गाउँपालिका १ सिसुवाखोलामा निर्माण गरिएको सिसुवाखोला स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । संखुवासभा प्रदेश सभा (क) साँसद राजेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।

सिसुवाखोलाको चेप्चेवामा रहेको स्वास्थ्य चौकी भवनलाई पहिरोले भत्काई विस्थापित गरिएपछि टिवाटारमा भवन निर्माण गरिएको हो । कोशी प्रदेश सरकार र सिलीचोङ गाउँपालिकाको ६०-४० प्रतिशतको लागत साझेदारीमा भवन निर्माण गरिएको हो । भवन ठेक्का प्रणालीबाट १ करोड ६७ लाख ८२ हजार ९५१ रुपैयाँको लागतमा निर्माण गरिएको सिलीचोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण राईले जानकारी दिनुभयो ।

भवन उद्घाटन कार्यक्रमको अवसरमा निशुल्क जग्गादाताहरु रामकुमार राई तथा रमिला राई दम्पत्ति र शुक्रबहादु राई तथा कविता राई दम्पत्तिलाई सम्मान गरिएको छ ।

०७७ सालमा चेप्चेवामा रहेको चौकीको भवनमा पहिरोले क्षति पुर्याएपछि घर भाडामा लिएर सेवा प्रवाह गरिदै आएको थियो ।
गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङको अध्यक्षतामा आयोजित कार्यक्रमलाई प्रमुख प्रशासकीय अधिकृत प्रविन राईले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरु, कर्मचारीहहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार