खाँदबारी । कुलुङ जातिको सभ्यताको विकास भएको क्षेत्र महाकुलुङमा आधा दर्जन बढि कार्यक्रमको आयोजना गरि चाक्चाकुर मनाउने तयारी गरिएको छ । महाकुलुङ गाउँपालिकाको आयोजनामा साँस्कृतिक प्रतियोगितादेखि मुन्दुम ट्रेल भ्रमण बर्षको समापनसम्मको कार्यक्रमको आयोजना गरि यस बर्ष चाक्चाकुर पर्व मनाउन लागिएको हो ।
वडा नम्बर ४ स्थीत गुदेल माविको प्राङ्गणमा आयोजना हुन लागेको कार्यक्रममा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता, खुल्ला महिला पुरुष म्याराथन (दौड) प्रतियोगिता, महाकुलुङ गाउँपालिका स्तरीय बेईलिफु (धनष बाँण) प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
त्यस्तै, महिला पुरुष छेलो हान्ने प्रतियोगिता, कुलुङ लोक गीत सैराजा सैसै गायन प्रतियोगिता, कुलुङ भाषामा ट्याक गीत गायन प्रतियोगिता र कुलुङ भाषाको गीतमा नृत्य प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
चाक्चाकुरकै अवसरमा मुन्दुम पदमार्ग भ्रमण बर्षको समापन कार्यक्रम पनि आयोजना गर्न लागिएको छ । गाउँपालिकाको आयोजनामा पौष १५ गते भ्रमण बर्षको समापन गर्न लागिएको हो । कार्यक्रममा स्थानीय उत्पादनमा आधारित परम्परागत परिकारको प्रदर्शनी, कुलुङ, शेर्पा लगायतका आदिवासीका परम्परागत संस्कृतिक प्रदर्शनी लगायतका कार्यक्रमहरु आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा भ्रमण बर्ष समापन कार्यक्रमको आयोजना गर्न लागिएको कुलुङले जानकारी दिनुभयो । उक्त अवसरमा कलाकारहरु ईन्द्रकला राई, परेश राई, अजय अलंकार, छितिज कुलुङ, रिद्धिमा कुलुङ, रमा कुलुङ, ईन्देणी कुलुङ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
सन २०२५ मा एक लाख पर्यटक भित्र्याउने लगायतका लक्ष्यहरु राखेर गत माघ १६ गते भोजपुरको टेम्के मैयुम गाउँपालिकाको चखेवामा भ्रमण बर्षको उद्घाटन गरिएको थियो ।
कुलुङ जातिको प्रमुख पर्व चाक्चाकुरको अवसरमा महाकुलुङ गाउँपालिकाले पौष १५, १६ र १७ गते ३ दिन स्थानीय बिदा दिदै आएको छ । यस पर्वको अवसरमा कुलुङ जातिको बाहुल्य भएको स्थानीय तहहरुले समेत स्थानीय बिदा दिदै आएको छ ।


प्रतिक्रिया