संखुवासभामा । २०७९ को निर्वाचनमा कुल एक लाख १७ हजार ५५४ मतदाता रहेको अहिले बढेर एक लाख १९ हजार ६३० जना पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईले जानकारी दिए।
जिल्लाभर १०८ वटा मतदानस्थल र १६२ मतदान केन्द्र रहेकोमा एक मतदानस्थल र दुई मतदान केन्द्र पनि थप भएका छन् । निर्वाचनको भौगोलिक अवस्था हेरेर भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा रहेको बरुण आधारभूत विद्यालय नयाँ मतदानस्थल कायम गरिएको छ ।
भोटखोला गाउँपालिका–४, गोलामा रहेको कृष्ण माध्यमिक विद्यालयबाट टुक्र्र्याएर बरुण आविमा लगिएको हो । गोलाबाट करिब तीन-चार घण्टाको दूरीमा रहेको सिप्रुङबासलाई मतदान गरेर आउन–जान एक दिन लाग्ने गरेको ब्यापक जनगुनासो हुँदै आएको थियो ।
त्यसैगरी, चिचिला गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय पाख्रिबास र मकालु गाउँपालिका–२ स्थित हेमाद्री माध्यमिक विद्यालय सेदुवामा एक-एकवटा मतदान केन्द्र थप भएसँगै कुल संख्या १६४ कायम भएको कार्यालय प्रमुख राईको भनाइ छ ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ । निर्वाचन आयोगले गत कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको थियो । त्यसपछि पुनः एक हप्ता समय थप गरी मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम समावेश गर्न देशैभर अनुरोध गरेको थियो ।


प्रतिक्रिया