खाँदबारी । खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामाको उपाधि सेकाहा क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा मकालु फ्रेन्ड्स क्लबलाई २–१ को गोल अन्तरमा हराउँदै सेकाहा क्लबले उपाधि जितेको हो ।
खेलको सुरुवातमा नै मकालु फ्रेन्ड्सका जीवन मास्केमगरले गोल गरी क्लबलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि सेकाहा क्लबले गोलपोस्टनजिकै बल पुर्याउँदा मकालु फ्रेन्ड्स क्लबका खेलाडीले आत्मघाती गोल गरेका थिए । त्यसको केही समयपछि सेकाहा क्लबका अनिश आरडीले १ गोल थप गर्दै सेकाहालाई उपाधि दिलाए। खेलको दोस्रो हाफमा कसैले गोल गर्न सकेनन् ।
प्रतियोगिताको म्यान अफ द म्याच सेकाहा क्लबका अनिश आरडी घोषित भए भने सर्वोकृष्ट खेलाडी सेकाहा क्लबका कृष्ण राई, सर्वोकृष्ट गोलकिपर सेकाहा क्लबका प्रविन लिम्बू र सर्वाधिक गोलकर्ता मकालु फ्रेन्ड्स क्लबका जीवन मास्केमगर र सेकाहा क्लबका ध्रुव सुब्बा घोषित भए ।
विजेतालाई कोशी प्रदेश सरकारका अर्थमन्त्री विदुर सुब्बाले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । २६ पुसदेखि सुरु भएको प्रतियोगिता आज समापन भएको हो ।


प्रतिक्रिया