पर्यटन विकासका लागि माछा संरक्षण



खोला तथा नदीनाला नेपालको प्राकृतिक सम्पदा हो । जस अन्तर्गत नेपालका उत्तरबाट बग्ने थुप्रै हिमशृंखला र नदी नालाहरु पर्दछन् । यी नदी तथा खोलाहरुमा पाइने जलीय जीव तथा जनावरहरु झनै ठूला सम्पत्ति मानिन्छन् । पानीमा पाइने ति जलिय जीवलाई विभिन्न तवरले प्रयोग तथा उपयोग गरेर लाभ लिन सकिन्छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने खोलामा पाइने जीव अन्तर्गत माछा सबै भन्दा लाभदायक मानिन्छ । यसलाई व्यवसायिक रुपमा माछा मारेर आर्थिक स्थिती सुधार गर्न सकिन्छ भने माछालाई संरक्षण गरेर पनि पर्यटकिय हिसाबले अघि बढाउन सकिन्छ । हाम्रो देशमा अझै पनि थुप्रै घर परिवारले ब्यावसायिक माछा पालनबाट जीवन निर्वाह गरिरहेका छन् ।

यसैबिच सूदूरपूर्व संखुवासभा साबिकको स्यावुन गाविस हाल पाँचखपन नगरपालिका वडा नं. १ मा पर्ने कुसुवा र हङ्दुवा खोलाको माछालाई स्थानीयहरुले संरक्षण गरिरहेका छन् । उनीहरुले कुसुवा र हङ्दुवा खोलाको शिरदेखि दोभान सम्म झन्डै तीन किलोमिटरको क्षेत्रमा माछा संरक्षण गरेका छन् । विगत एक वर्षदेखि कुसुवाखोलामा माइक्रो हाइड्रो परियोजनाले माछा संरक्षण मूलसमिति गठन गरी उनीहरु माछा संरक्षणमा जुटेका हुन् । समिति अन्तर्गत कुसुवा र हङ्दुवा गरी १५/१५ सदस्यीय दुई उपसमिति समेत गठन गरिएको छ । समितिमा स्याबुन गाविसका ३, ४, ५, ६ र ८ वडाका स्थानीयहरु रहेका छन् ।

साबिकको स्याबुन गाविसलाई पर्यटकीय हिसाबले अगाडि बढाउने उद्धेश्यका साथ माछा संरक्षण समिति गठन गरिएको समितिका अध्यक्ष दल बहादुर राई बताउछन् । उनले भने, ‘यस क्षेत्रको माछा संरक्षणले यस गाविसको पर्यटकिय तथा धार्मिक स्थलहरु साबिकको वडा नं. ३ मा पर्ने जौंबारी नागेश्वर गुफा, ५ नं. वडाको सिद्धि ढुङ्गा र ४ र ५ नं. वडाको सिमानामा पर्ने घोर्ले छाँगालाई पर्यटन आवागमनका लागी थप टेवा पुग्ने छ ।’

‘विगत वर्षमा विभिन्न तरिकाबाट माछा मारिन्थ्योे । खोलामा माछाका भुराहरु मात्र देखिन्थे । अहिले समिति निर्माण भएपछि खोलामा प्रशस्त माछाहरु देख्न पाइन्छ’ स्थानीय टंक बहादुर बुढाथोकीले भने ।

उक्त खोलामा अहिले कुनै पनि तवरबाट माछा मार्न रोक लगाइएको छ । माछा मार्नेलाई समितिको निर्णय अनुसार चार तहमा विभाजन गरी जरिवाना तथा कानुन बमोजिम कारबाही गरिन्छ । अहिलेसम्ममा एक जनालाई कारबाही गरिसकिएको र उनले पाँच हजार रुपैंया जरिवाना तिरिसकेको अध्यक्ष दल बहादुर राई बताउछन् ।

यदी कोही कसैले संरक्षण क्षेत्र भित्र माछा मारेको पाइएमा पहिलो पटक भेटिएमा पाँच हजार, दोस्रो पटक १० हजार, तेस्रो पटक २० हजार, चौथो पटक २५ हजार र त्यो भन्दा बढी फेला परेमा कानुन बमोजिम कारबाही गर्ने गरिएको छ ।
उक्त खोलामा अहिले विभिन्न ९ भन्दा बढी जातका माछाहरु पाइन्छन् ।

सम्बन्धित समाचार