१८ प्रश्नोत्तर जसले तपाईँलाई स्थानीय तहबारे सजिलै बुझाउँछन्




काठमाडौं स् संविधान घोषणा गर्दा एक ठाउँमा उभिएका प्रमुख पाँच दल तोकिएकै मिति वैशाख ३१ मा स्थानीय तह निर्वाचन गर्न एकमत देखिएपछि चुनाव हुँदैन कि भन्ने शंका हटेको छ । यद्यपि असन्तुष्ट मधेसी मोर्चालाई पनि चुनावमा सहभागी गराउने तयारी प्रमुख दलको छ । वैशाख ३१ गते ७४४ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

नयाँ संरचनाअन्तर्गत हुन लागेको स्थानीय तह निर्वाचनबारे हामी थाहा दिँदै छौँ । यो सामग्रीमा तपाईँ स्थानीय तह भनेको के हो भन्नेबारेमा १८ प्रश्न र तीनका उत्तर पढ्नुस् जसले तपाईँलाई सजिलोसँग आफ्नो स्थानीय तहबारे बुझाउँछन् । यी प्रश्नोत्तर निर्वाचन आयोगले तयार पारेको हो ।
१। स्थानीय तह भनेको के हो ?
नेपालको संविधान अनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो ।

२। गाउँपालिका भनेको के हो ?
गाउँपालिका एक भौगोलिक र शासकीय तह हो।

३। गाउँ कार्यपालिका भनेको के हो ?
गाउँपालिकाको कार्यकारिणी अंग गाउँ कार्यपालिका हो।

४। गाउँ सभा भनेको के हो ?
गाउँपालिकाको व्यवस्थापकीय कार्य गर्ने अंग गाउँ सभा हो ।

५। नगरपालिका भनेको के हो ?
नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो ।

६। नगरकार्यपालिका भनेको के हो ?
नगरपालिकाको कार्यकारिणी अंग नगर कार्यपालिका हो ।

७। नगर सभा भनेको के हो ?
नगरपालिकाको व्यवस्थापकीय कार्य गर्ने अंग नगर सभा हो ।

८। गाउँ सभा कसरी बन्छ ?
गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष, गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरु, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दलित) सहित ४ जना सदस्यहरु रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिका भित्रका दलित या अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यहरु समेत मिलेर गाउँसभा बन्छ ।

९। दलहरुले महिला वडा सदस्यमा उम्मेदवारी दिँदा कसरी दिनुपर्छ ?
दुईजना महिला वडा सदस्यको लागि दलहरुले मनोनयनपत्र दर्ता गर्दा एङ्क जना दलित महिलाको नाम समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ भने एकजना मात्र महिला सदस्यको लागि मनोनयनपत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समावेश नगरे पनि हुने व्यवस्था रहेको छ ।

१०। गाउँ कार्यपालिका कसरी बन्छ ?
गाउँ कार्यपालिकामा एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, गाउँसभाले आफूमध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका २ जना सदस्यहरु मिलेर गाउँ कार्यपालिका बन्छ ।

११। नगर सभा कसरी बन्छ ?
नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख, नगरपालिका भित्रका वडाका वडा अध्यक्षहरु, प्रत्येक वडाबँट निर्वाचित हुन् २ महिलासहित ४ जना सदस्यहरु र सम्बन्धित नगरपालिका भित्रका दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर सभा बन्छ ।

१२। नगर कार्यपालिका कसरी बन्छ ?
नगर कार्यपालिकामा एक जना प्रमुख, एकजना उपप्रमुख नगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर कार्यपालिका बन्छ ।

१३। गाउँ सभा र नगर सभाको कार्यकाल कति वर्षको हुन्छ ?
गाउँ सभा र नगर सभाको कार्यकाल ५ वर्षको हुन्छ। गाउँ सभा र नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि सदस्यको निर्वाचन हुन्छ ।

१४। जिल्ला सभा कसरी बन्छ ?
सम्बन्धित जिल्लाभित्र रहेका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखहरु सदस्य रहेको जिल्ला सभा बन्छ ।

१५। जिल्ला सभाले के काम गर्छ ? 
जिल्ला सभाले जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ। जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धी कार्यको अनुगमन गर्ने र जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने कराय गर्दछ ।

१६। जिल्ला समन्वय समिति कसरी बन्छ ?
जिल्ला सभाले एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र एकजना दलित वा अल्पसंख्यक सहित बढीमा ९ जना सदस्य निर्वाचित गरी जिल्ला समन्वय समिति बनाउँछ ।

१७। जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यमा ककसले उम्मेदवारी दिन पाउँछन् ?
जिल्ला सभाका सदस्यहरुका साथै जिल्ला भित्रका गाउँसभा र नगर सभाका सदस्यहरुले समेत उम्मेदवारी दिन पाउँछन् ।

१८। जिल्ला समन्वय समितिले के काम गर्छ ?
क० जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने ।

ख० विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने ।

ग० जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने ।

 

सम्बन्धित समाचार