सुमन कुलुङः जो भारी बोक्दाबोक्दै म्याराथन च्याम्पियन बने



जेष्ठ १६, २०७४ । सोलुखुम्बु गुदेलका सुमन कुलुङले विश्वकै सबैभन्दा उचाईमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन २०१७ को उपाधि जितेका छन् । २६ वर्षीय उनले सोमबार सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी ३ घण्टा ४३ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै उपाधि जिते ।

६४ औं सगरमाथा दिवसका अवसरमा आयोजित एभरेस्ट म्याराथनको १५ औं संस्करण विजेता सुमन गत वर्ष तेस्रो भएका थिए । सेनाका सुरेन्द्र बस्नेत ३ घण्टा ५२ मिनेट ०८ सेकेन्डबाट दोस्रो र वेदबहादुर सुनुवारले ४ घण्टा ५ मिनेट ४० सेकेन्डबाट तेस्रो भए । महिलातर्फको उपाधि भने सोलुखुम्बु गुदेलकै निरकला राईले ४ घण्टा ५१ मिनेट ३३ सेकेन्डमा दौड जित्दै उपाधि हत्याइन् । सोलुखुम्बका पूर्णिमा राईले ५ घण्टा ७ मिनेट २६ सेकेन्डबाट दोस्रो र दावा डोमा शेर्पाले ५ घण्टा ३७ मिनेट ४३ सेकेन्डबाट तेस्रो भए ।

उपाधि विजेता सुमन पयर्टकका भारी बोक्छन् । हिमाली भेगमा भारी बोक्दाबोक्दै एभरेस्ट म्याराथनको उपाधि जित्न पाउँदा निकै खुसी लागेको उनले बताए । सगरमाथा आधारशिविरबाट सुरु भएको म्याराथन गोरक्सेप, लोबुचे, थुक्ला, फेरिचे, दिङबोचे, पाङबोचे, तेङबोचे क्याङजुमा हुँदै नाम्चे बजारमा आएर टुंगिने गर्छ ।

अल्ट्रामा तीर्थ
सोमबारै सम्पन्न ‘एभरेस्ट अल्ट्रा म्याराथन’ को उपाधि भने सेनाका तीर्थबहादुर तामाङले जितेका छन् । उनले ६० किलोमिटर दुरी ६ घण्टा ३८ मिनेट ५६ सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् ।

सेनाकै मोहनदेव जोशीले ७ घण्टा १८ मिनेट १६ सेकेण्डबाट दोस्रो भए । पूर्ण तामाङ तेस्रो भए । सेनाका उनले ७ घण्टा ३० मिनेट लगाए । अल्ट्रा म्याराथन भने आधारशिविरबाट गोरक्सेप, लोबुचे, थुक्ला, फेरिचे, दिङबोचे, पाङबोचेबाट फोर्चे हुँदै घुमेर आउनुपर्ने हुन्छ ।

विदेशीतर्फ पोल्यान्डका पिटर
विदेशीतर्फ पोल्यान्डका पिटर हेर्कोगले ४ घण्टा ३८ मिनेट २२ सेकेन्डमा ४२ किलोमिटर दूरी पार गर्दै उपाधि जितेका छन् । ४ घण्टा ४८ मिनेट ४८ सेकेन्डबाट पोल्यान्डकै रोबर्ट सेलिन्स्की दोस्रो भए । उनी गत वर्षका विजेता हुन् । फ्रान्सका फव्रिक अर्मान्डले ५ घण्टा २८ मिनेट ३० सेकेन्डबाट तेस्रोस्थान प्राप्त गरे ।

सबै विधामा प्रथम, दोस्रो, तेस्रो हुने खेलाडीले क्रमशस् १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । आयोजक हिमालय एक्सपिडिसनका व्यवस्थापक शिखर पाण्डेले एभरेस्ट म्याराथन उच्च हिमाली क्षेत्रको जोखिमपूर्ण खेलमा रूपमा रहेको र यसलाई निरन्तर आयोजना गरिने बताए । कुम्भराज राई, ईकान्तिपुर

सम्बन्धित समाचार