संखुवासभा, असार ११ –पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको घोर्ले झरना मूख्य पर्यटकीय गन्तव्य बनेको छ
। घोर्ले झरना हेर्न र आसपासका क्षेत्रको दृश्यावलोकन गर्दै रमाउन दैनिक पर्यटकहरू आउने गरेका छन् । पाँचखपन नगरपालिका वडा नं. १ मा रहेको यो झरना १ सय ९१ मिटर अग्लो रहेको छ ।
कुसुवा खोलाबाट निर्मित यो झरना तीन तला भएर बगेको छ । सबैभन्दा माथिको पानीको छाँगा ९ मिटर, त्यस भन्दा तलको ६५ मिटर र अन्तिमको १ सय १७ मिटर छ । अन्तिम छाँगा सबै भन्दा लामो भएकाले दिनमा प्राय जसो इन्द्रेणी देखिने गरेकाले झरना झनै सुन्दर देखिने वडाअध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।
आइतबार घोर्ले झरना पर्यटन विकास केन्द्रले झरना संरक्षण, सम्बद्र्धन तथा प्रचारप्रसार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । झरनाको संरक्षण र सम्बद्र्धन कसरी गर्ने र यसको प्रचारप्रसारलाई कसरी प्रभावकारी बनाउने विषयमा कार्यक्रम केन्द्रित भएको घोर्ले झरना पर्यटन विकास केन्द्रका अध्यक्ष दुर्गानिलम श्रेष्ठले बताए । झरना संरक्षण र सम्बद्र्धनका लागि बिहिबार सम्पन्न वडा परिषद्मा समेत आवश्यक बजेट विनियोजन गर्न नगरपालिका र प्रदेश सरकारलाई सिफारिस गर्न निवेदन दिएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताए । पर्यटन विकास र पर्यटकीय गन्तव्यका लागि नगरपालिका भित्र रहेको घोर्ले झरना पाँचखपनका लागि कोषेढुंगा साबित भएको जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवासले बताए । उनले भने–झरनाको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक सहयोग गर्छु ।
झरनालाई थप प्रचारात्मक गर्न छिट्टै घोर्ले झरना मिनि महोत्सवको आयोजना गरिने श्रेष्ठले बताए । झरना संरक्षण र प्रचारका लागि आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेश सरकार मार्फत चार लाख रुपैंया विनियोजन गरिएको श्रेष्ठले बताए । उक्त रकम मध्ये दुई लाख पुर्वाधार निर्माण, एक लाख कार्यालय व्यवस्थापन र एक लाख प्रचारप्रसारमा खर्च गरिएको श्रेष्ठले बताए । जसमा प्रचारप्रसार अन्तर्गत चैनपुरको जीरो पोइन्ट, तुम्लिङ्टार, वाना, बिहिबारे, नारदे भञ्ज्याङ, हाँडी खर्क र कुसुवा डाँडा गाउँमा घोर्ले झरनाको भ्रमण गरा,ैं आन्तरिक तथा बाह्य पर्यटक प्रबर्धन गरौं लेखिएको होर्डिङबोर्ड राखिएको छ ।
झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गत वर्ष सांसद विकास कोषबाट सडक निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त रकमले चैनपुर–बाह्रबिसे सडक खण्डको जौंबारीबाट झरना जाने सडकको डाँडा गाउँसम्म ट्रयाक खोलिएको थियो । झरना जौंबारीबाट झन्डै ११ किलोमिटर उत्तर–पूर्वमा पर्छ । तर विनियोजित रकमले झरनासम्म पुग्ने सडकको ट्रयाक खोल्न सकिएन वडाध्यक्ष बुढाथोकीले भने । गत आर्थिक वर्षमा नगरपालिकाको पहिलो नगरपरिषदले मर्मत तथा ट्रयाक निर्माणका लागि नगद ८ लाख रुपैंया बजेट विनियोजन गरेको थियो । उक्त रकमले सांसद विकास कोषबाट विनियोजित रकमले खोलिएको ट्रयाकको मर्मत गरेको र बाँकी रकमले ट्रयाक खोलिएको वडाअध्यक्ष बुढाथोकीले बताए । बाँकी २ सय ७० मिटरमा ढुंगाको सिँढी निर्माण गरिएको उनले बताए । घोर्ले झरना हेर्न आउने पर्यटकहरू दैनिक बढिरहेको उनको भनाई छ । ‘दैनिक एकसय आन्तरिक पर्यटक आउँछन् उनले भने, ‘वनभोज खान आउने र छाँगाको मनोरञ्जन लिनेहरू पनि त्यतिकै छन् ।’ वैशाख १ गते मात्रै झरनामा मनोरञ्जन लिन करिब एक हजार पर्यटक पुगेका थिए ।
‘विगतमा सडक नहुँदा झरना हेर्न जान समस्या थियो’ उनले भने, ‘अब गाडीबाट सहजै झरना हेर्न पुगिने छ । चर्चामा सुनिदै आएका धनकुटाको नमस्ते झरना, तेह्रथुमको ह्यात्रुङ झरना र भोजपुरको छाँगे खोलाभन्दा यो कम आकर्षकको नभएको उनले बताए । झरनाको प्रचारप्रसार गर्न सके पाँचखपनको मात्र नभई सिंगो जिल्लाको पहिचान रहने नगरपालिकाका प्रमुख विपिन राईले बताए ।
प्रतिक्रिया