तमू ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा बिदा दिन माग गदै प्रधानमन्त्रीलाई स्मरणपत्र



संखुवासभा । पुस १५ अर्थात तमू ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा बिदा दिएको बिदा बर्तमान सरकारले कटौती गरेको भन्दै पुनः बिदा दिन माग गर्दै मंगलबार तमू ह्युल छोंजधीं गुरुङ राष्ट्रिय परिषद संखुवासभाले प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई स्मरणपत्र बुझाएको छ ।

तमू ह्यूलका जिल्ला अध्यक्ष मित्रकुमार गुरुङको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई स्मरणपत्र बुझाएको हो । बिगतका बर्षहरुमा दिईदै आएको गुरुङ समुदायको महानपर्व पुस १५ को तमु ल्होसार लगायत अन्य आदिवासी जनजाति समुदायहरु शेर्पाको ग्याल्पो ल्होसार, तामाङको सोनम ल्होसार र थारु समुदायको माघी र माघेसंक्रान्ती लगायतका पर्वहरु कटौती गरेको भन्दै पुनः बिदा दिन माग गरेको हो । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पठाएको स्मरणपत्रमा नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको र सबैजातिको पर्वहरु समान ढंगले बिदा दिनु पर्ने उल्लेख गरेको छ ।

०६२/६३ को जनअन्दोलनको सफलतासंगै गठित अन्तरिम सरकारले हामी आदिवासी जनजातिहरुको साँस्कृतिक पहिचानलाई सम्मान गर्दै ३५.३ प्रतिशत जनताले आदिमकालदेखी मनाउदै आएको उधौली/उभौली, तमु ल्होसार, सोनम ल्होसार, ग्याल्पो ल्होसार र माघी र माघे सक्रान्ती लगायतमा पाँच दिन सार्बजनिक बिदा पाउदै आएकोमा बर्तमान सरकारबाट भएको कटौतीको घोर भत्र्सना गर्दछौं ।’

आदिबासी जनजाति समुदायका उचित माग र मुद्दा सम्बोधन नभएको खण्डमा जुनकुनै कदम चाल्न बाध्य हुने समेत चेतावनी दिएको छ । तमू ह्युल छोजधी गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला समिती संखुवासभाले बुझाएको स्मरणपत्र बुझदै जिल्ला प्रशासन कार्यलय संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले तुरुन्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पठाउने जनाए ।

सम्बन्धित समाचार