सबै भन्दा ठुलो पुरस्कार राशिको लोक गायन प्रतियोगिता हुँदै



काठमाडौं । पछिल्लो समयमा नेपालमा रियालिटी शोहरु एकपछि अर्को गरेर आउने क्रममा छ । जति पनि कार्यक्रमहरु आएका छन्, सबै प्रतियोगिताले दर्शकको मन जित्दै आएको छ ।

यहि क्रममा नेपाली लोक गीत क्षेत्रको प्रतियोगिता सुरु हुन लागेको छ । हालसम्मकै सबै भन्दाठुलो पुरस्कार राशिको लोक स्टार कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । कार्यक्रम हरेक सनिबार र आईतबार साँझ ७ः३० देखि ८ बजेसम्म प्रसारण गरिने आयोजक चाहना मिडियाले जनाएको छ ।

कार्यक्रममा सवै उमेर समुहका ईच्छुकहरुले भाग लिन सक्ने छन् । सहभागीताको लागि मुलुकभरका ७७ जिल्लाका ९५ वटा एफएम स्टेशनबाट अडिसनको लागि फारम भर्न सकिने आयोजक श्रोतले जनाएको छ । रेडियो स्टेशनमा फारम भर्न नसक्नेहरुका लागि अडिसन स्थलमा पनि फारम भर्ने सुविधा दिइएको छ । विदेशमा बस्नेहरुले पनि मोवाइल एपको मद्दतले फारम भर्न सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि सातवटै प्रदेशमा अडिसन हुनेछ । प्रदेश ७ का लागि धनगढीमा अडिसन सुरु हुनेछ । यहाँ कैलाली बहुमुखी क्याम्पसमा फागुन १६ गते बिहीबार अडिसनमो मिति तय गरिएको छ ।

प्रदेश ६ को अडिसन फागुन २० गते सुर्खेतमा हुनेछ । अडिसन स्थान बीरेन्द्रनगरको मध्य पश्चिमाञ्चल विश्वविद्यालय तय गरिएको छ । प्रदेश ५ का लागि फागुन २५ गते बुटवलको एभरेष्ट सेकेन्डरी स्कुलमा अडिसन हुनेछ । त्यस्तै, प्रदेश ४ को लागि चैत्र २ गते पोखराको जनप्रिय उच्च माध्यामिक विद्यालय, सिमल चौरमा अडिसन हुनेछ । प्रदेश १ को अडिसन इटहरीको पिस जोन हाईयर सेकेन्डरी स्कुलमा चैत्र ११ गते हुने आयोजकले जनाएको छ । प्रदेश २ का लागि जनकपुरमा चैत्र १६ गते स्थानीय आरआरएम क्याम्पसमा अडिसन हुनेछ ।

कार्यक्रमको अन्तिम अडिसन प्रदेश नम्बर ३ का लागि काठ्माण्डौमा गर्ने तय भएको छ । काठमाडौंको इङ्लिश प्रिपरेटोरी स्कुल मिनभवनमा चैत्र २३ अडिसन हुनेछ । कार्यक्रममा खुला रुपमा जो कोहिले सहभागी हुन पाउँछन् । जुनसुकै भाषा, जुनसुकै समुदाय, भूगोलको लोक गीत गाउन सक्ने आयोजक चाहना मिडियाका सञ्चालक सहदेव कोईरालाले जानकारी दिनुभयो ।

प्रतियोगिताको मूख्य निर्णयकमा जयनन्द लामा, सुनिता दुलाल, राजमजी खाँड, बिबि अनुरागी रहनेछन् । कार्यक्रम संचालन सुभेक्षा खड्का र अशोक धितालले गर्नेछन् । कार्यक्रमको निर्देशन सुरेश पौडेलले गर्ने कार्यक्रमका संयोजक माधव थापाले जनाएको छ । लोक स्टारको शीर्ष उपाधी जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार