बर्खा लाग्दा दुर्गम संखुवासभालाई पहिरोकै चिन्ता



 
सङ्खुवासभा । बर्षातको सुरुवातसँगै सङ्खुवासभाका माथिल्लो क्षेत्रका नागरिकहरुको चिन्ता सुरु हुन्छ । पटक पटक पहिरोले त्रसित बनाएका उनीहरुको पहिरोले बगाउने होकी भन्ने चिन्ताले राम्रो सुत्न समेत सक्दैनन् ।

अघिल्लो बर्षको साउनमा सिलिचोङ गाउँपालिकाका विभिन्न गाउँहरुमा पहिरोले विस्थापित नै बनाए । वडा नम्बर ३ ताम्कुको याचाम्खा र साप्तेल टोलमा २१ र वडा नम्बर २ बालामा २ परिवारलाई विस्थापित बनाए । पहिरोले विस्थापित बनाएकाहरु अन्यत्र पुर्नस्थापना गरिएन, बरु पानी पर्न छोडेपछि पहिरोले चर्काएको पुरानै घरमा फर्किए । पछिल्लो समय बर्षातको समयमा नै दैनिक जसो पानी परिरहदा जागराम बस्न थालेका छन् ।

जिल्लाको माथिल्लो क्षेत्र पावाखोलामा पनि यस्तै समस्या छ । भिरालो भुभागमा लगातार पानी पर्दा माटो बग्ने र ठुलो पहिरो जाने जोखिम यस क्षेत्रमा पनि उत्तिकै छ । यस क्षेत्रमा पनि गएको एक दशक भित्र आधा दर्जनले ज्यान गुमाई सकेका छन् । यस बर्ष पनि पहिरोले बगाउने चिन्ता यहाँका नागरिकहरुमा पनि छ ।
यसरी पहिरोको जोखिममा रातभर जागराम बस्नुको पिडाले सुरक्षित स्थानमा पुर्नस्थापन गराउनु पर्ने पहिरो पिडितहरुले माग राख्दै आएका छन् । बर्षातको समयमा पहिरोको उच्च जोखिम भएकोले यस अगावै सुरक्षित ठाउँमा सर्न पाए ढुक्क हुने उनीहरुको भनाई छ । ‘पहिरोले बगाएपछिको राहत भन्दा पहिरो जानु अघि नै सुरक्षाको उपाय अपनाए राम्रो हुन्थ्यो’, मकालु गाउँपालिकाका स्थानीय रामधन राईले भन्नुभयो ।

सिलिचोङ गाउँपालिकाका गत बर्षका पहिरो विस्थापितहरुलाई चाहेर पनि सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ बताउछन् । गाउँपालिकाको टोलीले नै स्थलगत अध्ययन गरेर स्थानान्तरण गर्ने भनिए पनि पिडितहरु नै तत्पर नभएको उहाँले बताउनुभयो । ‘गाउँमै पुगेर जग्गा, काठ, टिन निशुल्क दिन्छौ, गाउँपालिका नजिकै आएर बस्नुस् भन्यौं तर उनीहरु नै तयार भएनन्’, अध्यक्ष कुलुङले भन्नुभयो । याचाम्खा र साप्तेल टोलका स्थानीयले त्यही गाउँकै सुरक्षित ठाउँ खोजेर घर बनाउने तर टाढा नजाने सर्त राखेपछि उनीहरुलाई अन्यत्र सार्न नसकिएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । सुरक्षित स्थानमा सार्नको लागि अझै कुरा भईरहेको उहाँको भनाई छ । याचम्खा र साप्तेलवासीहरुलाई स्थानान्तरण गर्दा दिईने जग्गा आफ्नै नाममा भए पुर्नवासमा जान मञ्जुर रहेको समेत उहाँले जानकारी दिनुभयो ।

यता जिल्ला विपद ब्यवस्थापन समितिले पनि विपद् पुर्व र विपद्पछिको तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष जीवनप्रसाद दुलालले बताउनुभयो । पहिरो जाने सम्भावित क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा सार्न स्थानीय तहहरुसँग समन्वय गर्दै आएको उहाँले बताउनुभयो । बाढी पहिरोको विपद आईहाले उद्धारको लागि तीन वटै सुरक्षा निकाय तैनाथ अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार