विराटनगर । महिलाको चरित्र हत्या गर्ने गरी अभिव्यक्ति दिने इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीलाई कारबाही गर्न प्रदेशसभा सदस्यले माग गरेका छन् । चौधरीले बुधबार इटहरीको एक कार्यक्रममा होटल व्यवसायसँग महिलालाई जोडेर मन्तव्य दिएका थिए ।
कांग्रेसकी सांसद बिन्दिया कार्कीले चौधरीको अभिव्यक्ति निन्दनीय भएको बताइन् । ‘सुरुमा पत्रकारमाथि गुन्डागर्दी शैलीमा उत्रिए,’ उनले भनिन्, ‘अहिले महिलाको चरित्र हत्या गर्ने काम भयो । के इटहरीका मेयर नेकपाले डामेर छाडेका साँढे हुन् रु’
चौधरीको यस्तो गतिविधिप्रति नेकपा र सरकार मौन बस्नुको कारण थाहा पाउनुपर्ने माग गरिन् । मन्त्री पाउने आशामा सत्ता पक्षका महिलाहरूले पनि मुख थुनेर बसेको कार्कीको आरोप थियो । यसैगरी शून्य समयमा बोल्दै सत्तापक्षका सांसद विमल कार्कीले सांसदहरूमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको रकम खर्च गर्न आफ्नै समन्यत्र बनाउनुपर्ने माग गरे । ‘चालु आर्थिक वर्षका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ करोड विनियोजन गरिएकामा उक्त रकममध्येबाट कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई र जिल्ला समन्य समितिलाई दिने विविध शीर्षकको रकमले आफ्नै कर्मचारी राख्न सकिन्छ,’ उनले भने, ‘त्यो सामान्य समितिमा जम्मा भएको १ प्रतिशत रकम कहाँ खर्च भइरहेको छ, त्यो पनि हेरिनुपर्छ ।’
स्थानीय पालिकाहरूले आफ्नो काम गर्न नभ्याइरहेका बेला प्रदेशका काम गर्न निकै आनाकानी गर्ने गरेको उनको गुनासो थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि निर्वाचन क्षेत्र विकासमा अढाई करोड र प्रत्येक सांसदलाई ५० लाख रकम विनियोजन गरेको छ ।
प्रदेश १ मा ९३ सांसद छन् । शून्य समयमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले जिल्लामा स्थापना गरिएका यातायात कार्यालयलाई सुविधासम्पन्न बनाउन माग गरे ।
प्रतिक्रिया