भुटानमाथि नेपालको जित



काठमाडौं । पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। बंगलादेशको ढाकामा आज भएको खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो। नेपालले खेलको पहिलो हाफमा ४ गोल गर्‍यो भने खेलको दोस्रो हाफमा ३ गोल थप्योे।

नेपालको जितमा वर्षा ओलीले ४ गोल गरिन् भने सुक्रिया मियाँ २ तथा सेनु परियारले १ गोल गरिन्। वर्षाले खेलको सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खोलिन्। त्यस्तै, उनले खेलको १७औं मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। त्यसैगरी उनले खेलको ३५औं मिनेटमा थप १ गोल गरिन्।

नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औं मिनेटमा गोल गरिन् भने उनले खेलको ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औं मिनेटमा १ गोल गर्दै नेपाललाई ७–० गोलको जित दिलाइन्।

यसअघि भएको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० गोलअन्तरले हराएको थियो। प्रतियोगितामा बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ। अब नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक १८ गते बंगलादेशसँग खेल्नेछ।

सम्बन्धित समाचार