लिस्वन । झापा नेपाली फुटबलको उर्वर भूमि हो । राष्ट्रिय फुटबलको इतिहासमा झापा–११ ले कुनै समय तहल्का मच्चाएको थियो ।
त्यसो त मोफसलको प्रतिष्ठित प्रतियोगिता ‘झापा गोल्डकप’ पनि नेपाली फुटबलप्रेमीमाझ निकै लोकप्रिय छ। त्यही झापा गोल्डकपको प्रवास संस्करण पोर्चुगलको राजधानी लिस्बनमा आयोजना हुने भएको छ। झपाली समाज पोर्चुगलको आयोजनामा आगामी मे ३१ मा हुन लागेको भेट्रान फुटबल प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले ३ हजार ५ सय युरो तथा उपविजेताले २ हजार युरो नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रवासमा रहेका नेपालीहरूलाई खेलकुदमार्फत एकअर्कासँग जोड्ने, आत्मीयता बढाउने र नेपाली समुदायबीच एकताको भावना थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको झापाली समाजका संरक्षक अञ्जान मिश्रले बताए।
लिस्बनस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख शत्रुधन पोखरेल को प्रमुख आतिथ्यतामा सम्पन्न हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ।


प्रतिक्रिया