लगातार पानी परेपछि संखुवासभामा पहिरोको चिन्ता




खाँदबारी । सङ्खुवासभामा लगातार बढी पानी परेपछि पहिरोको जोखिम बढेको छ । मंगलबार साँझबाट परेको पानी विहिबार साँझसम्म पनि नरोकिएपछि जिल्लाको माथिल्लो क्षेत्रमा पहिरोको जोखिम बढेको हो ।

जिल्लामा मकालु, पावाखोला, चिचिला र सिलिचोङ गाउँपालिका पहिरोबाट बढि प्रभावित क्षेत्रमा पर्छ । लामो समयसम्म लगातार पानी परेपछि त्यस क्षेत्रका स्थानीय त्रासमा दिनरात विताउनु परेको छ । पहिरोको डरका कारण साँझको समयमा सुरक्षित स्थानको घरमा भेला भएर रात कटाउन थालेका छन् । सुरक्षित स्थानमा सर्न नसक्नेहरु भने जागराम भएर बस्नु परेको छ ।

एक महिना अघि पनि यसरी लगातार पानी परेपछि जिल्लाको मकालु गाउँपालिकामा एक घर पहिरोले बगाएको थियो भने ११ परिवार विस्थापित भएका थिए । त्यहा मानविय क्षती नभएपनि चौपायमा क्षति पुगेको थियो । पहिरोले विस्थापीत बनाएका त्यहाँका स्थानीयलाई नेपाली सेनाको हेलिकप्टरले सुरक्षित स्थानमा सारेको थियो । उनीहरुको लागि राहत सामग्री समेत हेलिकप्टरबाटै पुराईएको थियो ।

यसै विच, जिल्लामा विपद आई परे ब्यवस्थापनको तयारी पुरा गरिएको जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । करिव एक महिना अघि नै विपद ब्यवस्थापन समितिको बैठक बसी विपद पुर्व र विपदपछिको सम्पुर्ण तयारी पुरा गरिएको उहाँले जानकारी दिनुभयो । कतै विपद आईहाले उद्धारको लागि तीन वटै सुरक्षा संयन्त्र तैनाथ गरिएको उहाँको भनाई छ । सडक अवरुद्ध हुने सम्भाब्यतालाई मध्यनजर गरि सरकारी र ब्यावसायीहरुको स्काभेटर पनि पहुँचमा राखिएको दुलालले जानकारी दिनुभयो । त्यस्तै, आवश्यकता अनुसार ईन्धन सुरक्षित राख्न पेट्रोल पप्पहरुलाई पनि निर्देशन दिईएको उहाँले जानकारी दिनुभयो ।

विपदपछि खाद्यन्न आपुर्तीमा समस्या आउने हुँदा सोको ब्यवस्थापनको लागि खाद्य सामग्रीहरु ‘स्टक’ मा राख्ने ब्यवस्था गरेको उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले जानकारी दिनुभयो । त्यस्तै, लत्ताकपडा, नुन, तेल लगायतका अन्य सामग्रीहरु चाहेजत्ति उपलब्ध गराउन सक्ने शाक्यले जानकारी दिनुभयो । विपदमा आईपर्ने समस्याहरुको समाधानको लागि आफ्नो तयारी पुरा रहेको नेपाल रेडक्रस सङ्खुवासभाले पनि जनाएको छ । बर्षातको अन्त्यसम्मको लागि तालिम प्राप्त उद्धारकर्मीहरु र एम्बुलेन्स तयारी अवस्थामा राखिएको रेडक्रस सोसाईटी सङ्खुवासभाका सभापती सरोजकुमार बज्राचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार