विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजारसम्म जरिवाना हुने



 काठमाडाैं ।  कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजारसम्म जरिवाना हुने भएको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानुनी कारवाहीको व्यवस्था गरेको छ।

ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भए पनि हालसम्म कुनै उजुरी नपरेकाले कारवाही हुन सकेको छैन। उक्त उपदफामा ‘कसैले सशस्त्र द्वन्द्व वा जस्तो सुकै प्रतिकूल अवस्थामा कुनै पनि प्रयोग हुने विद्यालयलगायत स्थान, सेवा वा सुविधालाई आक्रमण वा सोको सञ्चालन एवं व्यवस्थापनमा अवरोध गर्न वा गराउन हुँदैन’ भन्ने उल्लेख छ। दफा ७२ मा कारवाहीको व्यवस्था गरिएको छ।

विसं २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि  नेपाल  सरकारले २०६८ जेठ ११ मा मन्त्रिपरिषद्बाट विद्यालय शान्ति क्षेत्रको अवधारणा पारित गरी ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८’ जारी गरेको थियो। निर्देशिकाले प्रवर्द्धनात्मक प्रभाव पारे पनि कानुनी बाध्यता नपाएको अवस्थामा बालबालिका ऐनको व्यवस्था उपयुक्त कानुनी हतियार भएको बाल अधिकारकर्मी तारक धितालले बताए।

विद्यालय शान्ति क्षेत्र निर्देशिकाको पुनरावलोनमा विज्ञका रुपमा कार्यरत धितालले विद्यालय बन्दकर्ताविरुद्ध उजुरी दिनुुपर्ने जानकारी दिए। निर्देशिकाको परिच्छेद ३ को कार्यनीतिमा शान्ति संस्कारलाई विकास गर्दै बालबालिकाको अधिकार हनन् भएको, भइरहेको वा हुन सक्ने थाहा पाएमा अभिभावक, शिक्षकलगायत अन्य कसैले तुरुन्त नजिकको प्रहरी कार्यालय र सम्बन्धित निकायमा सूचना दिने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ।

विद्यालयलाई सशस्त्र गतिविधि, हिंसा, दलगत राजनीति तथा अन्य हस्तक्षेप, भेदभाव, दुर्व्यवहार, बेवास्ता र शोषणबाट मुक्त राख्ने उद्देश्यले जारी भएको सो निर्देशिकालाई संघीय प्रणाली, नीति र कानुनअनुकूल बनाउन संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र विश्व शिक्षाको सहकार्यमा परिमार्जनका लागि परामर्श चलेको हो। परिमार्जनको मस्यौदामा संघ, प्रदेश र स्थानीय तहबीच कार्यान्वयन, अनुगमन र प्रतिवेदनका लागि संयन्त्र बनाउने उल्लेख छ।

यसैगरी टेलिफोन, इन्टरनेट, अनलाइनलगायत विद्युतीय सञ्चार माध्यम वा अन्य कुनै माध्यमबाट बालबालिकालाई हैरानी गर्ने, तर्साउने, धम्क्याउने, गलत सूचना प्रवाह गर्नेजस्ता कार्य हुन नहुने प्रस्ताव गरिएको छ।  विद्यालयभन्दा धेरै टाढा टाढाका विद्यार्थीलाई दुःख हैरानी हुने गरी लामो समय लगाएर विद्यालय ल्याउने प्रचलन नियन्त्रण गर्दै सेवाक्षेत्र (जोनिङ) निर्धारण गर्ने परिपाटी विकास गर्ने र बालबालिका आवतजावतमा तथा बालबालिका चढ्ने विद्यालयको सवारी साधनलाई अवरोध, नोक्सान गर्ने जस्ता क्रियाकलाप हुन नहुने विषय पनि मस्यौदामा थप  गरिएको छ।

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले मुलुकको बदलिएको शासन प्रणाली र राज्यसंयन्त्र अनुरुप पुनरावलोकन गरी प्राप्त सुझावका आधारमा निर्देशिकालाई परिमार्जन गरिने जानकारी दिए। उनले समाजवादोन्मुख मुलुकका थालनी कक्षा कोठाबाट हुुनुपर्ने भन्दै विद्यार्थीलाई पठन-पाठनमा कुनै अवरोध हुन नहुने स्पष्ट गरे। निर्देशिकाअनुसार कार्यान्वयन केन्द्रीय संयोेजन समितिको संयोजक केन्द्रको  महानिर्देशक रहने व्यवस्था छ।

सम्बन्धित समाचार