दाङ । दाङका एक किशोरलाई भारतबाट उद्धार गरिएको छ। तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका १४ वर्षीय विशाल चौधरीलाई भारतको सिम्लाबाट उद्धार गरिएको हो। बिजौरी मावलीमा बस्दै आएका चौधरी गएको चैत २९ गते तुलसीपुर ७ हलवारका भिनाजु नाता पर्ने काजु चौधरीसँग भारत गएका थिए।
भारतको हिमाञ्चाल प्रदेशको सिम्लास्थित पुँजाली भन्ने ठाउँमा शोषणमा परेपछि ३ जना युवाले उद्धार गरि नेपाल ल्याएका हुन्। कञ्चनपुरका दीपेन्द्र बस्नेत, जुद्ध चौधरी र जुम्लाका अमर विष्टले ती बालकलाई उद्धार गरेर दाङ ल्याइका थिए। उनीहरूले ती बालकलाई मंगलबार तुलसीपर उपमहानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरेका हुन्। भारतको हिमाञ्चल प्रदेशमा गएका ती बालकलाई बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म काम लगाउने गरिएको थियो, भने उचित पारिश्रमिक पनि नदिएपछि उद्धार गरिएको अमर विष्टले बताए।
‘उनलाई त्यहाँ उचित पारिश्रमिक पनि दिइएको थिएन, बिहानदेखि साँझसम्म काम गराउने गरिएको भन्ने सूचना पायौँ’ उनले भने, ‘त्यसपछि हामी आफैँ गएर ५ दिनपछि उद्धार गर्यौँ।’ ती बालकका भिनाजु नाता पर्ने काजु चौधरीले लगेर लगाएको र पछि सम्पर्कमा नआएपछि उनी बिचल्लिमा परेका थिए। विशालको बुवा बौदली चौधरीको हत्या ८/९ वर्ष पहिले तुलसीपुरमै भएको थियो। झन्डै एक डेढ वर्ष पहिले मात्रै उनकी आमा ३१ वर्षीया माया चौधरी पनि अर्कैसँग विवाह गरेकी थिइन्।
विशाल मामाको घरमा बस्दै आएका थिए। मावली हजुरआमा नोरी चौधरीका अनुसार विशाल कहिलेकाहीँ साथीहरूको घरमा सुत्ने जान्थे। गाउँ घरकै चिनजानकै भिनाजु पर्ने भएको हुँदा उसैले फकाइफुल्याई पारेर आफ्नो नाति विशाललाई भारतमा लगेर बिक्री गरेको हुँदा उसलाई कडा कानुनी कारवाही हुनुपर्ने माग गरिन्। यता, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले आरोपित काजु चौधरीलाई खोजी गरि कानुनी कठघरामा उभ्याउने बताए।
प्रतिक्रिया