सङ्खुवासभा । जिल्लाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एकजना पक्राउ परेको छ । भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले पक्राउ गरेको हो ।
भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । भोटेलाई चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा उक्त सुन र नगद फेला परेको बताईएको छ । पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउन थप जनशक्ति त्यस तर्फ पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मिमबहादुर लामाले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भएपछि मात्र थप कुरा आउने डिएस्पी लामाले बताउनुभयो । घटनाको प्रमाणीकरण पछि थप जानकारी गराईने उहाँले बताउनुभयो ।
बरामद भएको सुन चीन, भारत वा अन्यत्र नै लैजान लागिएको हो भन्ने खुलेको छैन । यातायातको असुविधाका कारण झोला वा डोकोमा सामग्री ओसार पसार गर्नुपर्ने संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो । भोटेखोला २ लिङगमबाट तीन दिनको पैदल दूरीमा पर्छ ।
प्रतिक्रिया