काठमाडौं ।प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई मंगलबार फोन आइरहेको थियो। उनको जवाफ हुन्थ्यो, ‘मलाई थाहा छैन।’ सभामुख पद रिक्त भएसँगै नेकपाले तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेपछि उनीप्रति चासो बढेको छ। नेकपाका सांसद उपसभामुख भेट्न सिंहदरबार पुगेका थिए।
‘सञ्चारमाध्यममा त के–के पो सुन्न थालियो त ? ’, सांसद पार्वत गुरुङको जिज्ञासा थियो, ‘कुरो के हो ? ’ तुम्बाहाङफेको उही जवाफ थियो, ‘मलाई थाहा छैन। खै, पत्रकारले के कसरी लेखेका हुन् ? ’ नेकपाका विना श्रेष्ठ, विन्दा पाण्डेलगायत सांसदले उपसभामुख कार्यालयमा पुगी जिज्ञासा राखेका थिए।
बलात्कार प्रयास आरोप लागेका कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि नयाँ सभामुखको बहस सुरु भएको छ। सभामुख पद लिन नेकपाले तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेको हो। सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्था छ। सभामुख पद लिन नेकपालाई उपसभामुख पद छाड्नुपर्ने बाध्यता छ।
निवर्तमान सभामुख महराले दोष खेप्दा तुम्बाहाङफेको पद धरापमा देखिएको छ। सभामुख पद लिन उपसभामुख छाड्ने निष्कर्षमा नेकपा नेतृŒव पुगिसकेको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तुम्बाहाङफेलाई बालुवाटार बोलाएर राजीनामा गर्न सुझाव दिएका थिए। ओलीले विगतको पद बाँडफाँटमा सभामुख पद तत्कालीन माओवादीको भागमा परेको उल्लेख गर्दै ‘पूर्वमाओवादीको भागमा पर्न’ सक्ने संकेत गरेको स्रोतले बतायो।
तुम्बाहाङफेले भने महराको दोषको भागी आफू हुन नसक्ने अडान लिएकी छन्। आफूले राजीनामा दिनुपर्ने ‘उचित कारण लिखित रूपमै दिनुपर्ने’ तर्क ओलीसँग गरेको स्रोतको भनाइ छ।
अन्नपूर्ण पोस्टबाट
प्रतिक्रिया