इटहरी । एउटै घरका सबैजना सन्तान अपाङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग गरेको छ । इटहरी २ को लक्ष्मण तामाङ्गलाई उपमहानगर प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम उनको घरमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरे । लक्ष्मण तामाङ्गका चार जना सन्तान चारैजना अपाङ्ग छन । १४ देखि २९ वर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोही पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरो बाहेक कोही पनि बोल्न समेत सक्दैनन् ।
उठेर हिँडन त परै जाओस्, बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ । तामाङ्ग परिवारमा परेको यो समस्या उनको मात्र होइन उनका साथमा उपमहानगरपालिका पनि रहेकाले जीवन निर्वाह अनुदान शीर्षकमा एक लाख रकम प्रदान गरिएको प्रमुख द्धारिकलाल चौधरीले बताए ।
चार जना सन्तानको यस्तो अवस्थामा उनीहरुको स्याहारको जटिल कार्यमा तल्लिन रहेकोमा प्रमुख चौधरीले परिवारको प्रशंसा गर्दै सद्भाव व्यक्त गरे । उपप्रमुख लक्ष्मी गौतमले यो परिवारलाई परेको समस्यामा सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् । उनले ट्रस्ट वनाएर अघि बढ्दा राम्रो हुने सुझाव समेत दिएकी छन् । यसअघि उपप्रमुख गौतमले घरमै पुगेर चारैजनालाई अपाङ्गता परिचय पत्र रेडकार्ड दिएकी थिइन् ।अहिले उनीहरुले मासिक ३ हजारका दरले भत्ता समेत पाउदै आएका छन ।
प्रतिक्रिया