दाङ । आफ्नै सासु आमाको घरमा आगो लगाइ फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ गिठेपानी बस्ने २६ वर्षीय रामबहादुर बिक रहेको प्रहरीले बताएको छ। विस २०७३ साल बैशाख १ गते घोराही उपमहानगरपालिका २ मा बस्ने सासु सुन्तली बिकको घरमा आगो लगाएको कसुरमा उच्च अदालत तुलसीपुरले २०७५ साल फागुन १४ गते फैसला भई ४ वर्ष कैद सजाय तोकिको थियो।
अदालतबाट कैद तोकिए पनि हालसम्म फरार रहेका बिकलाई खोज तलास गर्दै जाँदा आइतबार बिहान घोराही उपमहानगरपालिका १८ गिठेपानीस्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिकलाई आइतबार नै दाङ देउखुरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले जानकारी दिए।
त्यसैगरी दाङमा निर्माणाधिन सिमेन्ट उद्योगको भवनबाट खसेर एकजना कामदारको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका ३ मा रहेको सगरमाथा सिमेन्ट उद्योगमा शनिबार साँझ काम गर्ने क्रममा भारत उत्तर प्रदेश निवासी ४५ वर्षीय रमेश कुमार पटेल खसेर घाइते भएका थिए। सिमेन्ट उद्योगको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खसी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका पटेलको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रबक्ता शाहले बताए।
प्रतिक्रिया