सोलुखुम्बु ट्रेल रेसको उपाधि दावा र ल्हमुलाई



सोलुखुम्बुु ट्रेल रेसको पुरुषतर्फको उपाधि नेपाली धावक दावा शेर्पा र महिलातर्फको उपाधि ल्हमू शेर्पाले हात पारेका छन् । निर्धारित ३१० किलोमिटर दुरी दावा शेर्पाले २९ घण्टा ३३ मिनेट र ल्हमु शेर्पाले ४३ घण्टा ३० मिनेटमा पूरा गरेका हुन् ।

पुरुषतर्फ ३४ घण्टा ४५ मिनेटमा पूरा गर्दै फ्रेन्च नागरिक मार्क दोस्रो र ३६ घण्टा ३२ मिनेटमा दुरी पूरा गर्दै नेपाली धावक पेम्बा शेर्पा तेस्रो भए । महिलातर्फ ४९ घण्टा ४५ मा दुरी पार गर्दै मिङ्मारल्हेमी शेर्पा दोस्रो र ५१ घण्टा ५६ मिनेटमा निर्धारित दुरी पूरा गर्दै पासाङल्हमू शेर्पा तेस्रो भएका आयोजक संस्था ‘द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो । ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने पत्तालेको धापबाट सुरु भएको रेस सगरमाथाको आधार शिविर पुगेर पुनः फाप्लुमा आई बिहीबार समापन गरिएको हो ।

सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले दौड समापन गर्दै सोलुखुम्बुको पर्यटन प्रबर्द्धनमा सोलुखुम्बुु ट्रेल रेसले महत्वपूर्ण भूमिका खेल्ने र भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रचार प्रसारमा अझै जोड दिनुपर्ने बताउनुभयो ।

३१० किलोमिटर दुरीको दौड पूरा गर्न धावकहरु चार हजार छ सय अग्लो पिके पिक, तीन हजार पाँच सय मिटर अग्लो लामाजुरा पास, जुनबेसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्ड पोखरी हुँदैै पाँच हजार चार सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविर पुगेर गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुगेका हुन् । ६२ जना विदेशी र पाँच जना नेपाली सहभागी दौडमा दुई जना विदेशी बिरामी भएको र अन्य सबैले दौड पूरा गरेको आयोजकले जनाएको छ । ७७ वर्षका फ्रेन्च नागरिक ज्याक समेत दौडमा सहभागी भएका थिए ।

सम्बन्धित समाचार