सोलुखुम्बु । आमादब्लमको चुचुरोमा अनुमतिबिना नै अहिलेसम्मकै विशाल झण्डा फहराइएको छ । बुधबार कुवेतको आरोही टोलीले झण्डै १ सय ५० केजीको झण्डा चुचुरोमा फहराएको हो ।
१ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको त्यहस झण्डालाई ६ टुक्रामा विभाजन गरेर त्यहाँ पुर्याइएको श्रोतले जनाएको छ । कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाको टोलीले झण्डा फहराउन कुवेती दललाई सघाएको पाइएको छ । पुर्जाले मंगलबार इन्स्टाग्राममा अमादब्लमको फोटो पोस्ट गर्दै ‘उच्च जोखिम मोलेर असम्भव कार्यलाई सम्भव पार्न लागिएको’ बताउँनुभएको थियो । अहिले इन्स्टाग्राममा कुवेती आरोहीको प्रशंसा भइरहेको छ ।
क्यानेडियन आरोही इलिया साइकालीले इन्स्टाग्राममा कुवेतीहरूको मेहनत धैर्यसाथ हेरेको उल्लेख गर्नुभएको छ । केहीले कुवेती आराेहीकाे दलकाे राष्ट्रप्रेम भन्दै प्रशंसा गरे पनि अधिकांशले भने सुन्दर हिमाललाई कुरुप बनाएकाे भन्दै कडा आलाेचना गरेका छन् ।
६ हजार ८ सय २८ मिटर उचाइको आमादब्लम हिमालमा झण्डा फहराइएको दुई दिन नबित्दै आलोचना हुन थालेको छ । हिमाल आरोहणका विषयमा कलम चलाउँदै आएका अमेरिकी आरोही तथा ब्लगर एलेन एर्नेतेले त्यस कार्यको आलोचना गर्नु भएको छ । चाहे सगरमाथा होस् वा कोलोराडोको चट्टान, प्राकृतिक सम्पदालाई विरुप पार्ने बाहेक त्यस्ता कार्यको कुनै अर्थ नहुने भन्दै उहाँले कडा आलोचना गर्नुभएको छ ।
‘के-फ्ल्याग’ नामक मिसनअन्तर्गत अमादब्लम पुगेको कुवेती टोलीले पर्यटन विभागसँग झण्डा फहराउन अनुमति भने लिएको छैन । बुधबार दिउँसोतिर यसबारे जानकारी पाएको भन्दै पर्यटन विभाग, पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले अन्य कुनै निकायसँग अनुमति लिएको भए प्रमाण पेश गर्न भनिसकेको बताउनुभयो ।
प्रतिक्रिया