एजेन्सी ।भारतको नोइडामा यो साता एक २१ वर्षे युवतीलाई पाँच पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । युवती एक परिचित व्यक्तिले रोजगारीबारे कुराकानी गर्न बोलाएपछि नोयडाको सेक्टर ६३ गएकी थिइन् ।
घटना बुधबार राती साढे ८ बजे नोयडाको सेक्टर ६३ स्थित एक पार्कमा भएको थियो । घटनास्थलबाट जम्मा ५०० मिटरको दुरीमा एक प्रहरी पोष्ट छ । प्रहरीले घटनासम्बन्धमा चार व्यक्तिलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामको कुरा गर्न बोलाउने रवी भन्ने व्यक्ति पनि छन् । उनले सुरुमा युवतीलाई बलात्कार गर्ने प्रयास गरेका थिए ।
घटनाका थप दुई आरोपीहरु भने अझै फरार छन् । सबै आरोपीहरु नोइडाको सेक्टर ६३ का बासिन्दा भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार नोइडामा परिवारसँग बस्ने युवती बुधबार रवीले भेट्न बोलाएपछि सेक्टर ६३ गएकी थिइन् । एक म्यानपावर एजेन्सीमा पिऊनको काम गर्ने रवीले युवतीलाई काम मिलाइने दिनेबारे थप कुराकानी गर्न बोलाएका थिए ।
रवीले कुराकानी सहज हुने भन्दै नजिकको पार्क जान महिलालाई सहमत गराएका थिए । तर, साँझको समय सुनसान रहेको पार्कमा रवीले युवतीलाई बलात्कार गर्ने प्रयास गरे । तर महिलाले रवीको हरकर्तको प्रतिरोध गर्दै सहयोगको लागि चिल्लाईन् ।
उनको सहयोगको याचना सुनेर दुई पुरुष त्यहाँ पुगेका थिए जसले रवीलाई पिटेर भगाईदिएका थिए । रवी भागेपछि गुड्डु र शमु नामका ती पुरुषले नै महिलालाई बलात्कार गरे । अझ तिनले थप तीन साथीलाई बोलाएर महिलालाई पालैपालो बलात्कार गरेका थिए । पछि आउनेहरुको नाम ब्रिजकिशोर, पिताम्बर र उमेश थियो ।
पिडित महिलाले घटना भए लगतै राती साढे नौमा प्रहरीकहाँ पुगेर उजुरी दिएकी थिइन् । त्यसपछि , नाजुक अवस्थामा रहेकी महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । ती पाँच पुरुषले हिडने बेला बलत्कृत युवतीलाई निर्घात कुटेकाले उनको अवस्था झन् नाजुक भएको थियो । उपचारपछि पिडित युवतीको अवस्था खतरामुक्त रहेको घटना भएको गौतम बुद्ध नगर जिल्लाका एसएसपी भैरव कृष्णले बताए ।
प्रतिक्रिया