विद्यालयमा विद्यार्थीलाई खाजाको व्यवस्था,पढाइको गुणस्तरमा समेत सुधार



बर्दिया । ठाकुरबाबा नगरपालिकाको २ मा रहेको एक विद्यालय केही समयअघि विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्यो। कक्षा पाँचसम्म पढाइ संचालन गर्दै आएको ज्ञानोदय प्राथमिक विद्यालयय विद्यार्थी घटेपछि बन्द हुने अवस्थामा पुग्यो। गाउँको विद्यालय, पढाइ पनि राम्रो नहुने भएपछि विद्यार्थी अन्य स्कुलमा पढ्न गए। विद्यालय झण्डै खाली जस्तै बन्यो।

गाउँको एक मात्र विद्यालय त्यो पनि बन्द अवस्थामा पुगेपछि अन्य स्कुलमा मर्ज गर्ने कि भन्‍ने विषयमा छलफल पनि चल्यो। तर, यस क्षेत्रका श्रोतव्यक्ति, स्थानीय सरकार तथा अभिभावकले त्यसतर्फ केही चासो दिएपछि विद्यालय मर्ज भने भएन्। विद्यालयमा कार्यरत शिक्षक, शिक्षिकालाई अन्यत्र सरुवा गरियो। अन्य शिक्षक शिक्षिकालाई त्यहाँ पठाइयो।

विद्यालयको भौतिक अवस्थामा समेत सुधार गरियो। नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेर विद्यालयको पढाइको गुणस्तरमा समेत सुधार गरेपछि अहिले विद्यालयको अवस्थामा सुधार आएको छ।
यस्तै, विद्यालयले अहिले कक्षा चारसम्म पठनपाठन संचालन गर्दै आएको छ। सबै कक्षाका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक मन्जु ढकालले बताइन्। विद्यालयमा आफैँले तयार गरेका पोषणयुक्त खानेकुराहरू खुवाउँदै आइएको उनको भनाइ छ।

यस्तै, विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाले पनि बालबालिकाको पढाइमा विशेष निगरानी बढाउँदै आएका छन्। ‘हरेक शिक्षक, शिक्षिका समयमै कक्षामा प्रवेश गर्ने गरेका छन्’ विद्यालयका प्रधानाध्यापक ढकालले भनिन् ‘शिक्षकहरुले बालबालीकाहरुका हरेक क्रियाकलापहरु निगरानि गरिरहेका छन्।

विद्यालयको भौतिक अवस्थामा सुधार, पढाइको गुणस्तरमा वृद्धि अनि दिवा खाजाका कारण नै विद्यार्थीको संख्या बढ्न थालेको उनले बताइन्। कक्षा पाँचसम्म संचालित विद्यालयको पढाइमा गुणस्तर खस्किँदा  तीनसम्म सीमित रह्यो। अहिले कक्षा चारसम्म पठनपाठन हुँदै आएको छ। अझ कक्षा थपेर पाँचसम्म पुर्‍याउने विद्यालयले तयारी गरिरहेको छ।

सम्बन्धित समाचार