अलैंचीले देखाएको सपना अलैंचीले नै टुटायो



मासिदै गरेको अलैंची बगान ।

सङ्खुवासभा । पाँच बर्षअघि अलैंची फलाएर राम्रो आमदामी गर्नुभएका मकालु गाउँपालिका ६ का कर्णबहादु राईले जिल्लाको सदरमुकाम खाँदबारीमा जग्गा (घरेडी) किन्नुभयो । त्यसको दुई बर्षपछि त्यस जग्गामा घर बनाउन थाल्नुभयो । त्यो बेला अलैंचीको मुल्य एक लाख आठ हजारबाट घटेर एक मनको ४० हजार रुपैयाँ पुगेको थियो ।

अलैंचीबाट नै आमदामी गरेर सदरमुकाममा तीन तलाको पक्की घर बनाउँला, छोराछोरी पढाउँला भन्ने सपना देखेका कर्णबहादुरको घर बनाउन सुरु गरेको तीन बर्ष बित्दा पनि त्यही एक तलामै सिमित छ, त्यो पनि फिनिसिङ नगरिएको । अलैंचीले नै सपना देखाएर अलैंचीले नै सपना टुटाएको उदाहरण कर्णबहादुर मात्र होईन । यहाँका अधिकांस नागरिकहरु अलैंचीको आमदामीको आशामा विभिन्न ब्यक्ति र वित्तिय संस्थाहरुबाट ऋण समेत लिएर अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । तर एकाएक अलैंचीको उत्पादन घटेको र मुल्यमा समेत गिरावट आएपछि धेरैलाई समस्या परेको छ ।

अलैंचीको मुल्य ह्वत्तै बढेको बेला अधिकांस अलैंची कृषकहरुले घर जग्गामा लगानी गरेका छन् । केही आफ्नो लगानी र केही अन्यबाट सापट लिएर बजार क्षेत्रमा जग्गा किन्नेहरुले अहिले अलैंचीको मुल्य नभएपछि लिएको ऋण तिर्न सकिरहेका छैनन् । घरघरेडीको मुल्य आकासिएको बेला खाँदबारीमा घरेडी किन्नुभएको सिलिचोङ गाउँपालिकाका ३ का जीतबहादुर राईले त्यो बेला लिएको ऋण अझै तिर्न नसकेको बताउनुभयो । त्यो समयमा अलैंचीको राम्रो मुल्य भएकोले गाउँमा सहजै ऋण पाउँदा घरेडी किनेपनि अहिले निल्नुन ओकल्नुको अवस्थामा पुगेको राईको भनाई छ । खाँदबारीमा हाल जग्गाको मुल्य पनि खस्किएकोले बेच्न पनि समस्या रहेको राईले बताउनुभयो । ‘पहिले किनेको जग्गा साउँको साँउ पनि आउँदैन, बेचेर पनि ऋणको साँवा ब्याज नपुग्ला जस्तो छ’, राईले भन्नुभयो ।

पाँच बर्ष अघि अलैंचीको मुल्य प्रतिमन एक लाख ८ हजार रुपैयाँसम्म पुगेको थियो । त्यसपछि एकाएक अलैंचीको मुल्य झरेर अहिले प्रतिमन (४० किलोग्राम) २२ हजार रुपैयाँमा विक्रि भईरहेको छ । अलैंचीको उत्पादन र मुल्य दुवैमा कमि आएपछि किसानहरु निरास भएका छन् । अलैंचीको बोट सुकेपछि उत्पादन नै घटेको छ । फलेको फल पनि पहिलेको जस्तो गुणस्तरिय नभएको, हलुका हुने र तौल नपुग्ने समस्याका कारण कृषकहरु चिन्तित बनेका हुन् । पछिल्लो समय अलैंचीको आमदामी भन्दा खर्च बढी भएको भन्दै केही किसानहरुले भने बगान नै मास्न थालेका छन् । बगान फाँड्ने, गोड्ने, टिप्ने, सुकाउने लगायतका कामहरुको लागत र आमदामी हेर्दा घाटा हुने भएकोले अलैंची बगान नै मासेर अन्नबाली लगाएको चिचिला गाउँपालिकाका अलैंची कृषक जसबहादुर गुरुङले जानकारी दिनुभयो ।

सङ्खुवासभामा यस अघि करिव ४ सय मेट्रिक टनसम्म अलैंची फल्ने गरेकोमा यस बर्ष पुग नपुग डेढ सय मेट्रिकटन मात्र अलैंची फलेको अलैंची ब्यावसायी संघ सङ्खुवासभाका अध्यक्ष छत्रमणी काफ्लले जानकारी दिनुभयो । अलैंची उत्पादनको घट्नो रहेकोले अर्को बर्ष अझ घट्ने सम्भावना रहेको काफ्लेको भनाई छ ।

सम्बन्धित समाचार